२८ चैत्र, विराटनगर । सडक पेटीमा बसेर रात बिताउन बाध्य बेसहाराहरुलाई विराटनगर मोरङका सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समूहले निःशुल्क खाना खुवाउँदै आएका छन् ।
विभिन्न दाताहरुको सहयोग र आफ्नै खर्च व्यवस्थापनमा युवाहरूले सडकमा नै पुगेर बेसहाराहरुलाई खाना खुवाउँदै आएका हुन् । समाजसेवी तथा युवा अभियान्ता वसिम आलमका अनुसार खानालाई प्याक गरेर सडकमा रहेका बेसहाराहरुलाइ यथास्थानमा पुरेर वितरण गरिरहेको छ । लकडाउन अवधि भर उक्त सो अभियानलाई निरन्तर रुपमा संञ्चालन गर्ने युवा अभियन्ता आलमले बताउनुभयो ।
कोरोना भाइरस (कोभिड १९)को सम्भावित सङ्क्रमण रोक्न सरकारले विगत तीन हप्ता अघिदेखि लकडाउन आव्हान गरेको छ । लकडाउन बढ्दै जााँदा सडक पेटीमा बास बस्नेहरूमा भोकमरीको अवस्था आउन नदिन अभियान संचालन गरिएको उहाँले बताउनुभएको छ ।
विराटनगरको ट्राफिक चौकस्थित पप्पु अन्सारीले सञ्चालन गर्दै आउनुभएको रोयल बिर्यानी हाउसमा खाना पकाएर प्याक गरी प्रत्येक दिन वितरण गर्दै वितरण गरिरहेका बताईएको छ ।
दैनिक २ सयदेखि अढाई सय जनालाई खाना खुवाउँदै आएको युवा अभियन्ता पेरिस सुवेदीको भनाइ छ । सो युवाको समूह दैनिक बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ७ बजेदेखि ८ बजेसम्म खाना खुवाउँदै हिंड्ने गरेका छन् ।
उनीहरुले हालसम्म १ हजार बढीलाई खाना खुवाइसकेका छन् । उक्त अभियानमा भने विराटनगरका वसीम आलम, पेरिस सुवेदी, भुषण पोमु लिम्बू, सन्जु सापकोटा, दिपेन मरिक, पप्पु अन्सारी, भवेश पौडेल, गणेश शाह, चिरञ्जीवी आचार्य, गोपाल देबकोटा र संजय श्रेष्ठलगायतका युवा सहभागी छन् ।
यस्तैगरी सो अभियान विराटनगर–६ सरोचियाका स्थानीयहरुले पनि सुरु गरेका छन् । बुधबारदेखि दुई छाक खान नपाएकाहरुलाई लक्षित गरेर १ हप्तासम्मको लागि अभियानको सुरुवात गरिएको हो ।