भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने


१० चैत्र, झापा । भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलामको माइ नगरपालिका–१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश–१ सरकारले गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तिम्सिनाको उपचारको व्यवस्था प्रदेश–१ सरकारले गर्ने जानकारी दिनुभयो ।

चार दशक भारतका विभिन्न जेलमा बसेका तिम्सिनाको स्वास्थ्य अवस्था नाजुक भएको छ । उनको आवश्यक उपचारका लागि प्रदेश सरकारले तयारी थालेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले इलामका प्रमुख जिल्ला अधिकारी धुर्व खड्कालाई परिवारसँग समन्वय गरेर प्रारम्भिक उपचार थाल्न निर्देशन समेत दिनुभएको छ । मन्त्री कार्कीले भन्नुभयो–‘प्रारम्भिक उपचार, इलाम वा विर्तामोड गरेर समस्या पहिचान गरिनेछ । त्यसपछिको उपचार समस्या अनुसार अघि बढाउँछौं ।’

मन्त्री कार्कीले तिम्सिनाको उपचारसँगै भारत सरकारसँगको क्षतिपूर्ति माग गर्ने सवालमा आवश्यक पहल गरिने बताउनुभयो । ‘म आफै यो काममा लाग्ने छु’ मन्त्री कार्की भन्नुभयो–‘उहाँको उपचार प्रदेशले गर्छ, क्षतिपूर्तिका लागि भारत सरकारसँग पहल गरिने छ ।’

इलामका प्रमुख जिल्ला अधिकारी खड्काले मन्त्री कार्कीबाट आएको निर्देशन बमोजिम काम शुरु भएको जानकारी दिनुभयो । ‘आज (मंगलबार) मन्त्री ज्यूसँग कुरा भएको थियो’–प्रजिअ खड्काले भन्नुभयो–‘सोही बमोजिम तिम्सिनाको परिवारको घरमा खवर पठाइएको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर