८ फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड समूहलाई खुलमटारमा गठन भएको ‘दाहाल–नेपाल–खनाल’ कम्पनीको संज्ञा दिनुभएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम उक्त कम्पनीले गरेको उहाँको आरोप छ ।
विराटनगरमा आज आयोजित नेपाको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्न आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गर्ने, सरकारले गरेको विकास निर्माणको काममा भाँजो हाल्ने, राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने र प्रदेशका मुख्यमन्त्रीहरूलाईसमेत अपदस्त गर्ने प्रयास गरेको बताउनुभयो ।
उहाँले अब स्पष्ट रूपमा नेकपामा दुई कित्ता छुट्टिएको बताउनुभयो । ओली नेतृत्वको नेकपाको कित्ता राष्ट्रवादी कित्ता भएको उहाँको दाबी छ ।
“हाम्रो कित्ता राष्ट्रवादी कित्ता हो। राजीनितक स्थायित्व चाहनेको कित्ता हो। सुशासन पक्षधरको कित्ता हो। नेपाली जनताको भवष्यिलाई ध्यान राखेर मुलुक निर्माण गर्ने कित्ता हो,” मुख्यमन्त्री राईले भन्नुभयो, “खुमलटारमा दर्ता भएको दाहाल–नेपाल–खनाल कम्पनीको कित्ता मुलुकमा अस्थिरता सिर्जना गर्ने, तगारो हाल्ने राष्ट्रपतिलाई हटाएर, प्रधानमन्त्रीलाई अपदस्त गरेर, मुख्यमन्त्रीलाई अपदस्त गरेर अस्थितरा चाहने कित्ता हो ।”
उहाँले ओली नेतृत्वको नेकपाले आगामी निर्वाचन जित्नुपर्ने पनि बताउनुभयो । फेरि एकपटक जनताले राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिको बाटोमा मुलुकलाई लैजान ओली नेतृत्वको नेकपालाई मतदान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।