प्रदेश–१ को प्रदेशसभा अवरुद्ध हुने सम्भावनाः नेकपाका दुई समूहले आ–आफ्नै रणनितिमा

प्रदेश–१ को प्रदेशसभा अवरुद्ध हुने सम्भावनाः नेकपाका दुई समूहले आ–आफ्नै रणनितिमा


७ माघ, विराटनगर । प्रदेश–१ को आज (बुधबार) बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक–अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको स्रोतले जनाएको छ ।

यद्यपि, अवरोधलाई चिर्न सभामुख प्रदिप भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ ।

मंगलबार नै बसेको ओली समूहको संसदीय दलको अनौपचारिक बैठकले प्रचण्ड–माधव समूहका १६ सांसदलाई संसदीय गतिविधि गर्न नदिने निर्णय गरेको छ ।

‘बहुमत सदस्यले मुख्यमन्त्रीलाई दलको नेताबाट हटाएकाले मुख्यमन्त्रीले आज दलको नेताको हैसियतमा प्रदेशसभामा सम्वोधन गर्न नपाउने प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।
हिजो बसेको बैठकले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको प्रस्तावलाई पास गराउन सबै प्रतिपक्षीदलसँग सहकार्यका लागि छलफल अगाडि बढाउने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।

अर्काेतर्फ निलम्वनमा परेका सदस्यलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने ओली समूहले बताउँदै आएको छ । आफ्ना सांसदलाई अवरोध गर्न खोजिए संगठित रुपमा प्रतिवाद गर्ने आचार्यले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई संसद बैठकमै प्रवेश गर्न नदिने निर्णय गरेको छ । ओली समूहले भीम आचार्य, इन्द्रबहादुर आङ्बोसहित १६ जनालाई तीन महिनाका लागि निलम्वन गरेको छ । मंगलबार संसदीय दलको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको ओली समूहले अनौपचारिक छलफल गरेको थियो ।

मंगलबार प्रदेशसभा सचिवालयमा बसेको अनौपचारिक बैठकले प्रचण्ड–माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई प्रवेश गर्न नदिने निर्णय गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर