६ मंसिर, लमजुङ । लमजुङको क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारीका कारण सुनसान बनेको यहाँको होमस्टेहरुमा आठ महिनापछि पर्यटकको आवागमन बढेको हो ।
गत श्रावणसम्म यहाँका हामेस्टेहरु बन्द गरिएको थियो । भाद्र १ गतेबाट भने खुल्ला गरिएको थियो तर कहिलेकाहीँ दुई चार जनामात्र आउन थालेका थिए । अहिले भने दैनिक ३०/३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका होमस्टे संञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ ।
उहाँले भन्नुभयो, “विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ ।”
पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे«, मनास्लु, हिमालचुली, ङादीचुली (डा. हर्क हिमाल) र वुद्ध हिमाल देख्न सकिन्छ ।
सूर्याेदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।
विसं २०५७ बाट शुरु भएको घलेगाउँ होमस्टे जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा हामस्टे संञ्चालनमा रहेको उक्त समितिले जनाएको छ । यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ ।
लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो । यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खाैंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।
-रासस