२८ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने भएको छ । उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्रीहरूको भने कार्तिक देखि २०७७ चैत्र सम्मको ५० प्रतिशत पारिश्रमिक कोषमा जम्मा गरिने भएको छ ।
कार्तिक २० र २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दे संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो । प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक जम्मा भइसकेको र उपप्रधानमन्त्री तथा मन्त्री राज्यमन्त्रीहरुकोे ५० प्रतिशत पारिश्रमिक कोभिड कोषमा जम्मा गरिने पत्रकारसम्मेलनमा उहाँले बताउनुभयो ।
यसै गरी सरकारले रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाउने भएको छ ।
सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले एक समिति गठन गरेको बताउनुभयो ।
मन्त्री गुरुङले समितिले दिने प्रतिवेदनका आधारमा मुलुकमा रासायनिक मल उद्योग स्थापना गर्ने काम अगाडी बढाइने बताउनुभयो ।
अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा कृषि मन्त्री र उद्योग मन्त्री सदस्य रहनुभएको छ ।
यसै गरी सरकारले सरकारी अस्पतालहरूमा कोभिडको जाँच तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले बताउनुभयो ।