
२० असोज, रुपन्देही । प्रदेश–५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । विशेषगरी प्रदेश–५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा आजको मतदानबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।
प्रदेशसभाको आजको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको गर्ने मतदानमा ८२ सांसद उपस्थित रहेका थिए । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उहाँले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो ।
सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।
यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाइले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ । पक्षमा खसेको मत दुई तिहाइ भन्दा बढी भएपनि सभामुखले प्रदेशको नाम लुम्बिनी कायम भएको घोषणा गर्नुभयो ।
यता प्रदेशसभा बैठकले दुई तिहाईले नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव पारित गरेपछि बुटवलमा भने असन्तुष्टि बढेको छ । बुटवल पनि राजधानीको दाबेदार थियो ।
प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान हुँदा तीनवटा प्रस्ताव अस्वीकृत भएका थिए ।
नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त भएको हो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७