२३ भाद्र, काठमाण्डौँ । प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । तर प्रहरी कार्यालयले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन ।
आज प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि उल्लेख छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उहाँले हिजो बिहान पिसिआर परीक्षणका लागि स्वाब दिनुभएको थियो ।
प्रदेश–१ जनस्वास्थ्य प्रयोगशालामा गरिएको उहाँको पीसीआर परीक्षण रिपोर्ट आज पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरकै आइसोलेसनमा बसेको बताइएको छ ।
प्रदेश–१ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै दुई सय २० जना भने डिस्चार्ज भइसकेका छन् ।