६ श्रावण, काठमाण्डौँ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीरले सामाजिक सञ्जाल निकै तात्तिएको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी भएका छन् ।
यो तस्वीरका विषयमा अहिले धेरैलाई चासो पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार पो हुन् कि ? उनीहरु कुनै विशेषखालको परिस्थितिमा हिँडेका थिए कि ? सामाजिक सञ्जालमा यस्तै परिचर्चा भइरहेका छन् ।
प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको यस मोटरसाइकल धादिङस्थित गल्छी गाउँपालिकाको भएको पत्ता लागेको छ । मोटरसाइकलमा सवार पुरुष र महिला दुबै जना सोही गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव–इन्जिनियर रहेको खुलेको छ । केही महिनाअघि मात्रै जागिर सुरु गरेका उनीहरु प्रशासनिक कामले काठमाडौं आएका बखत मोटरसाइकलमा सँगै हिँडेका थिए ।
उनीहरु सिट रोलको कामले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर गत बिहीबार काठमाडौं आएको खुलेको छ ।
बबरमहलस्थित निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट तस्वीर खिचेको थियो ।
तस्वीर कसले खिचेको हो भन्ने खुलेको छैन । तर, यसलाई भाइरल गराउने काम चाहिँ पूर्वसचिव भीम उपाध्यायले गरेका हुन् । उपाध्यायले ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै तस्वीर पोष्ट गरेको केहीबेरमै फेसबुकभरि फैलिएको थियो ।
पूर्वसचिव उपाध्यायले आफूलाई एकजना साथीबाट इनबक्समा सो तस्वीर प्राप्त भएको बताएका छन् ।
केहीबेरमा उपाध्यायलाई सम्वन्धित व्यक्तिले फोन गरेर तस्वीर हटाउन आग्रह गरेपछि उनले हटाएको पनि बताए ।
सुरुमा आफुलाई सरकारी कर्मचारीले गर्लफ्रेन्ड लिएर हिँडेको होला भन्ने अनुमान थियो । तर, दुवैजना सरकारी कर्मचारी नै भएको थाहा भएपछि केहीबेरमै त्यो तस्वीर हटाएको उनले बताए ।
तस्वीर भाइरल भएपछि महिला कर्मचारी चिन्तित बनेकी छन् । उनले तस्वीर कसले र कहाँ खिचेको हो भन्ने थाहा नभएको बताइन् ।
आफु कार्यालयबाट विदा लिएर काठमाडौंमा आएको र सहकर्मी पनि काठमाडौं आएकाले सिटरोल लिनका लागि निजामति किताबखानामा सँगै गएको उनले बताईन् ।
छुट् िलिएर आफु निस्केकाले पोशाकमा ध्यान नपुगेको उनले बताइन् । सामाजिक सञ्जालमा तस्वीर देख्दा अचम्मित र दुखित बनेको उनको भनाइ छ ।