५ श्रावण, झापा । नेपालको पुर्वी क्षेत्रमा मात्र बसोवास रहेको धिमाल जातिको सांस्कृती झल्कने धिमाल संस्कृतिक संग्रहालय दमकमा निर्माण भएकोे छ । यस धिमाल संस्कृतिक संग्रहालयले दमकको पर्यटन क्षेत्रमा उल्लेख्य सहयोग पुर्याउने नगरपालिकाको विश्वास छ ।
लोपन्मोख अवस्थामा रहेको धिमाल समुदायको मैलिक बाजागाजा, हातहतियार तथा संस्कृतीलाई संरक्षण गर्दे आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न दमक नगरपालिका लागि परेको छ ।
दमक–९ मा रहेको धिमाल संस्कृति संग्रहालयमा सानो आकारको पोखरी, गणेश तथा हनुमानका मूर्ति, पूजा स्थल समेत निर्माण गरिएको छ । संग्रहालय परिसरमा ओखलमा महिलाहरुले चामल कुट्दै गरेको, पुरुषहरु कुकुरसहित खेतीमा जाँदै गरेको, ढोल बजाउँदै गरेको, सिंगो सुँगुरनै भारमा झुण्ड्याएर बोकेको जस्ता धिमाल संस्कृतिलाई चिनाउने मूर्तिहरु बनाइएका छन् ।
धिमाल समुदायबारे चासो राख्ने जो कोहीलाई पनि अवलोकन गरेरै धेरै कुरा जानकारी दिलाउन सक्ने गरी संग्रहालय निर्माण थालिएको धिमाल संस्कृति संग्रहालयका सदस्य तथा धिमाल समुदायका अगुवा कृष्ण धिमालले बताउनुभयो ।
निर्माणाधीन संग्रहालयलाई धिमाल जातिको अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको धिमाल अगुवाहरुको भनाई छ । संग्रहालयमा धिमाल समुदायको जन्मदेखि विवाह तथा मृत्यु संस्कार, मेला–हाट बजार शैली, खेती तथा शिकार चलनलाई मूर्तिकै माध्यमबाट देखाईएको छ
दमक नगरपालिकाले धिमाल जातिलाई पहिलो नगरसभाबाटै प्रथम नागरिकको रुपमा घोषणा गरेको छ
यससँगै धिमाल जातिको आर्थिक सामाजिक विकासका लागि नीतिगत रुपमानै प्राथमिकता दिँदै आएको नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनुभयो । यसले नगरको आन्तरीक पर्यटन प्रवद्र्धनमा पनि उल्लेख्य सहयोग पुग्ने नगर प्रमुख ओलीले बताउनुभयो ।
भिडियो हेर्नुहोस्ः