झापामा भएको १४ वर्ष पुरानो हत्याका अभियुक्त पक्राउ

झापामा भएको १४ वर्ष पुरानो हत्याका अभियुक्त पक्राउ


१ श्रवाण, झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ झापाबाट गरको छ । झापाको साबिक टागनडुब्बाका ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका हुन् ।

झापाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मा हुन् । उनी टागनडुब्बा–३ बस्थित ससुरालीमा गएका बेला घटना भएको थियो ।

एसपी कोइरालाका अनुसार कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगाधेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर बसेका लामगाधेले नत्थुमाथि कुटपिट गरेको कोइरालाको भनाइ छ ।

तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो । पछिल्लो समय पुराना घटनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनी इटाभट्टामा रहेको पत्ता लगाएको थियो ।

प्रहरीका अनुसार नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरकफरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ । एसपी कोइराला भन्छन्, ‘अभियुक्तले जतिसुकै चलाखी गरे पनि प्रहरीले निरन्तर निगरानी गरिरहेको हुन्छ, कसैले उन्मुक्ति पाउने कुरै हुँदैन ।’

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत, झापाले लामगाधेलाई ७ दिन हिरासमा राख्न अनुमति दिएको छ ।

यो अवधिमा उनको बयान, तथ्य विश्लेषण र प्रमाण संकलन लगायत हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर