८ असार, काठमाण्डौँ । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिनुभएको छ । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उहाँले बताउनुभयो ।
‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्यो,’ गुरुङले भन्नुभयो– ‘जता र्हेयो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार छ । न समितिले अनुगमन गरेर केही गर्न सक्छ ।’
समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उहाँले बताउनुभयो । ‘विकास समितिले बाटो, पुल, क्रसरलगायतको अनुगमन गर्ने र निर्देशन मात्र दिने रहेछ । कारबाही गर्ने अधिकार छैन,’ प्रदेशसभा सदस्य गुरुङले भन्नुभयो–‘कारबाही गर्ने निकायलाई ल यहाँ यसो भएको छ भनेर भन्यो, केही गर्दैन ।’
गुरुङले समितिका सभापति दीपक कोइरालालाई हिजो शुक्रबार राजीनामा पत्र बुझाउनुभएको हो ।
नेपालमा संघीयता नआएको भन्दै उहाँले प्रदेशमा कुनै ‘पावर’ नभएको समेत बताउनुभएको छ ।
तनहुँको कोत्रेमा रहेको क्रसर उद्योगका विषयमा आफूले पटक–पटक कुरा उठाए पनि केही नलागेको उहाँको भनाइ छ ।
अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पनि फिल्डमै कारबाही गर्न नपाएको गुनासो मनाङेले गर्ने गरेको बताउनुभयो ।
उहाँले मनाङेले दिएको राजीनामा नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीलाई बुझाएको बताउनुभयो ।
मनाङे मनाङ जिल्लाको प्रदेश सभा ‘ख’ बाट निर्वाचित हुनुहुन्छ ।