३१ जेष्ठ, काठमाण्डौँ । पछिल्लो समय अमेरीकामा भईरहेको जातीय विभेदविरुद्धको प्रदर्शन झनै हिंस्रक बन्दै गएको छ । अहिले भईरहेका प्रर्दशनहरुमा विश्वचर्चित व्यक्तिहरुका मुर्तीहरु निसानामा पर्न थालेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय विभेदविरुद्धको प्रदर्शनको निन्दा समेत गरेका छन् ।
अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्यु भएपछि पुनःजागृत भएको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका सालिकहरुलाई निशाना बनाएका छन् ।
यस्तो निशानामा पर्नेहरुमा अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस, बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन र रबर्ट मिलिगन, स्काउटका संस्थापक बाडेन पावेल, भारतका राष्ट्रपति महात्मा गान्धी, विश्वकै चतुर मानिएका बेलायती प्रधानमन्त्री विस्टन चर्चिललगायत छन् ।
क्रिस्टोफर कोलम्बसः
इटालियन अन्वेषक क्रिस्टोफर कोलम्बस (१४५१–१५०६) ले अमेरिकी महादेशका आदिवासीहरुलाई निर्ममतापूर्वक दमन गरेको, उनीहरुका लास माथि परेड खेलेको,बलात्कार गरेको, नाक–कान काटेर आफ्नो दास बनाएको, अमेरिकी आदिवासीको संस्कृति विनास गरेको लगायतका अत्याचारका बारेमा ४८ पृष्ठ लामो निवेदन स्पेनको राजदरबारमा उतिबेलै बुझाइएको थियो । अहिले अमेरिकाको बोस्टोन, न्युयोर्क र ह्युस्टन सहरहरुमा कोलम्बसको मूर्ति तोडफोड गर्ने वा रंग पोत्ने गतिविधि गर्दै प्रदर्शनकारीहरुले “इतिहासको दमनकर्तालाई यहाँबाट हटाऊ” भनी लेखेका छन् ।
एडवार्ड कोल्सटनः
“ब्ल्याक लाइफ म्याटर”आन्दोलनकै क्रममा बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन (१६३६–१७२१) को ब्रिस्टोलमा भएको मूर्तिलाई डोरीले तानेर लडाएर सडमा लछारपछार गर्दै, लात्तले हान्दै अन्त्यमा एभोन नदीमा फालियो । कोल्सटन दासप्रथाका महानायक थिए । उनले ‘द अफ्रिकन ट्रेडिङ कम्पनी’खोलेर अफ्रिकाबाट अमेरिका दास व्यापार गर्ने एकाधिकार लिएका थिए । उनले बिरामी, रोगी वा अस्वस्थ दासदासीलाई आन्द्रमहासागरमा फाल्ने र स्वस्थलाई मात्रै अमेरिका पुर्याएर बेच्ने गरेका थिए ।
उनको मूर्तिलाई एभोन नदीमा फाल्नुको रोष त्यही अत्याचार थियो । बेलायतीहरुले अफ्रिकाबाट एक करोड २० लाख दासदासी अमेरिका लगे, तिनीहरुलाई कोचाकोच गरी पानीजहाजहरुमा राखियो, जसमा बिरामी भएको, अनुशासन नमानेको लगायतका कारणले करिब २० लाखलाई आन्ध्र महासारमा डुबाइदिए । सेताहरुले काला माथि गरेको इतिहासको त्यो क्रुरताको वर्णन गर्न जति लेखे पनि साध्य छैन । दासदासी व्यापारबाट कोल्सटनले अकुत सम्पति कमाए, जसलाई उनले बेलायतीहरुको समाजसेवामा लगाए । फलतः उनका नाममा बेलायतमा दर्जनौं संस्थाहरु खुलेका थिए । रंगभेद विरुद्धको चक्रव्यूहमा बितेको एक दशकमा कोल्स्टनका नाममा खोलिएका ट्रस्ट, राजमार्ग, विद्यालय लगायतको नाम परिवर्तन गर्ने लहरै चलेको छ ।
रबर्ट मिलिगनः
लण्डन म्युजियम (डकल्यान्डस्) को बाहिरपट्टी राखिएको रबर्ट मिलिगन (१७४६–१८०९) को मूर्तिलाई पनि हतारहतार हटाइएको छ । मिलिगनले जमैकाको आफ्ना दुई उखु खेतीमा काम गर्न ५२६ अफ्रिकीहरुलाई दास बनाएका थिए । “ब्ल्याक लाइफ म्याटर”को समर्थनमा प्रदर्शनकारीहरुले उनको मूर्तिमाथि विभिन्न रंग पोतेर एउटा कपडा ओढाइदिएका थिए।
बाडेन पावेलः
नेपालमासमेत निकै लोकप्रिय रहेको स्काउट अभियानका संस्थापक बाडेन पावेल (१८५७–१९४१) मा मूर्तिहरु पनि प्रदर्शनकारीहरुको निशानामा परेकाले उनको मूर्ति त्यहाँबाट हटाउन बेलायतका स्थानीय सरकारहरुले काम गरिरहेका छन् । पावेल ब्रिटिस आर्मी थिए । त्यहाँ रिटायर्ड भएपछि सन् १९०८ मा केटाहरुका लागि स्काउट खोले । उनी सेताहरु भगवानका उत्कृष्ट श्रृष्टि हुन भन्ने भावना राख्थे । काला वा अन्य मानिसहरुप्रति उनको दृष्टि घृणायुक्त थियो । उनी हिटलर वा मुसोलिनीजस्तो तानाशाही शासन व्यवस्थाको पक्षपाती थिए ।
महात्मा गान्धीः
त्यस्तै अहिंसात्मक आन्दोलनका प्रणेता र भारतका पूर्वराष्ट्रपति महात्मा गान्धी(१८६९—१९४८) पनि अहिलेको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनको निसाना बनेका छन् । गत जुन ४ तारिखमा अमेरिकाको वासिङटन डिसीमा भारतीय राजदूतावास अघिल्तिर भएको मूर्तिमा प्रदर्शनकारीहरुले तोडफोड गरी रंग पोतिदिएपछि त्यो मूर्तिलाई सेतो कपडाले छोपिएको छ।
तर, गान्धीका प्रतिमाहरु युरोप र अफ्रिकामा पनि उनको रंगभेदी नीतिका कारण निसानामा परिरहेका छन् । बेलायतमा लण्डनको पार्लियामेन्ट स्क्वायरमा भएको प्रतिमामा पनि ‘रेसिस्ट’ लेखिएको छ । लण्डनमा कानुनको पढाइ सक्नेबित्तिकै गान्धी दक्षिण अफ्रिकामा रहेका भारतीयको अधिकारका लागि २१ वर्ष (१८९३–१९१४) वकालत गर्न गए । उनले दक्षिण अफ्रिकामा काला मानिसहरु माथि गोराहरुले गरेको अत्याचारमा नबोलेको र कालाभन्दा भारतीयहरु माथिल्लो श्रेणिका मानिस हुन् भनी लबी गरेको आरोपमा अफ्रिकाको केन्या, दक्षिण अफ्रिका लगायतका देशहरुमा रहेका उनका प्रतिमाहरु बेलाबेला तोडफोड हुने गरेका छन ।
विस्टन चर्चिलः
आन्दोलनमा विश्वकै चतुर मानिएका बेलायती प्रधानमन्त्री विस्टन चर्चिल (१८७४–१९६५) को लण्डनको सालिक पनि आक्रमणको निशानामा पर्याे । उनले दोस्रो विश्वयुद्धमा बेलायतको नेतृत्व गरी जिताएको भए पनि उनका विचारधारा अफ्रिकी मूलका र अश्वेत मानिसहरुको खिलाफमा थियो । चर्चिलले सबैभन्दा ठूलो अपराध भारतीयहरु माथि गरेका थिए । चर्चिलले दोस्रो विश्वयुद्धका लागि भारतको अधिकांश खाद्यान्न नियन्त्रण गरेर बेलायत ल्याएका थिए, जसका कारण बंगालमा सन् १९४३ ठूलो अनिकाल पर्याे जसले कम्तीमा ३० लाख मानिसहरुको मृत्यु हुनपुग्यो । चर्चिलको त्यो अपराधको तुलनामा दोस्रो विश्वयुद्धको विजय फिका लाग्छ ।
बेलायतले सन् १८०७ मा दासदासी खरिदबिक्री बन्द गर्याे । अमेरिकामा सन् १८६३ मा अब्राहम लिंकनले यो प्रथालाई समाप्त पारे । तर अमेरिका र युरोपमा विभिन्न स्वरुपहरुमा त्यो इतिहासको दासत्वको विरासत झल्किएको देख्न सकिन्छ । उदाहरणका लागि अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् १९७० को दशकमा हाउजिङ कम्पनि चलाउँथे । उनको कम्पनीका भवनहरुमा कालो छाला भएका मानिसलाई भाडामा बस्न दिएका थिएनन् ।
बर्ट मुगाबे के भन्छन् ?
सन् १९९० सम्म पनि दक्षिण अफ्रिकामा बेलायती सेताहरुको सर्वाेच्चता कायमै थियो, जहाँ सेतो छाला भएको मान्छेले अपराध गरेछ भने पनि कालो छाला भएको प्रहरीले पक्राउ गर्न मिल्दैनथ्यो । नेल्सन मण्डेलाको उदयपछि मात्रै संसारमै धेरै सुनखानी भएको देश दक्षिण अफ्रिकाले रंगभेदी शासनबाट मुक्ति पायो । तर जिम्बाब्बेका तत्कालिन राष्ट्रपति रबर्ट मुगाबेका केही भनाइहरुले रंगभेद कहिल्यै समाप्त नहुने संकेत गर्छन् । मुगाबेले भनेका थिए— सेता कारहरुले काला टायरहरु लगाउञ्जेलसम्म, सेतो रंगले शान्ति र कालो रंगले कुसाइत जनाउञ्जेलसम्म, बिहेमा सेता लुगा र अन्त्येष्टीमा कालो लुगा लगाउञ्जेलसम्म रंगभेद समाप्त हुँदैन ।
प्रदर्शनहरु रोक्न ट्रम्पको निर्देशनः
अहिले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपति ट्रम्पले जातीय विभेदविरुद्ध भएका प्रदर्शनहरु हिंसात्मक भएको भन्दै तत्काल रोक्न निर्देशन समेत दिएका छन् ।
उनले आफूले अमेरिकी नागरिकका लागि राम्रो काम गरेकाले तोडफोड र आगजनीका घटनाहरु नियन्त्रण गर्न निर्देशन दिएका हुन् । जर्ज फ्लोइडको हत्या प्रकरण न्यायका लागि नभइ हिंसात्मक भएको जिकिर गरेका छन् ।
केही विपक्षीले देशलाई विभाजन गर्न उठाएको जातीय नाराको विपक्षमा आफू रहेको भन्दै उनले त्यसलाई पूरा हुनै नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रर्दशनकारीहरुले राज्यले नै विभेद गरेको भन्दै विरोध गरिरहेका छन् । जातीय र रंगभेदविरुद्ध अमेरिका मात्र नभई विश्वभर नै प्रदर्शनहरु भइरहेका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपतिहरुले देखाएको सहानुभूति र ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काउने खालका भएको कतिपय विश्लेषकहरुले बताएका छन् ।
उनीहरुले ट्रम्पकै अभिव्यक्ति र कार्यशैलीले अमेरिकालाई जातीय विभेदमा विभाजन गर्न खोजेको टिप्पणी गरेका छन् ।