
२६ जेष्ठ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाँले अन्तराष्ट्रिय सिमा सम्बन्धी समस्या समाधान गर्न दुवै देशका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको बताउनुभयो । द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत मात्र सिमा सम्वन्धी समस्या समाधान गर्न सकिने उहाँले दोहोर्याउनुभयो ।
उहाँले भन्नुभयो–‘राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको सिमानाको स्पष्ट अभिलेख महत्वपूर्ण हुन्छ, सोका लागि देशको सम्पूर्ण भूभाग स्पष्टसँग देखिने नक्शा प्रकाशन गरी प्रचलनमा ल्याउन अत्यन्त आवश्यक छ, विगतमा नेपालको नक्शामा छुट्याइएका गुञ्जी, नाभी, कुटीलगायतका भूभागसमेत समेटी देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्शामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्शा तयार गरी प्रकाशन गर्ने काम भइसकेको छ ।’
अर्काे प्रसङ्गमा मन्त्री अर्यालले भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया, हलिया, हरुवाचरवा, कम्लहरीलगायत पिछडिएका र सीमान्तकृत वर्गको भूमि स्रोतमा पहुँच पुर्याइने र अव्यवस्थित बसोबासको व्यवस्थापन गरिने निकिर गर्नुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७