७ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका क्रममाः बेपत्ता भएकाहरूको सन्ततिलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
बेपत्ता योद्धाहरूको स्मृतिमा आज विज्ञप्ति निकालेका प्रचण्डले बेपत्ताका परिवारको अभिभावकत्व र तिनका सन्ततिको शिक्षादीक्षा र भविष्य निर्माणमा सरकारले सहयोग गर्ने नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।
‘बेपत्ताका सन्ततिलाई सहयोग गर्न उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ प्रचण्डले भन्नुभएको छ ।
सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममाः बेपत्ता भएका योद्धाको संघर्षका कारण नै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा मुलुक रहेको प्रचण्डको भनाइ छ ।
‘महान् वेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो । यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोयाउँछ’, प्रचण्डको भनाई छ ।