
२८ असार, इलाम । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि इलामको चुलाचुली गाउँपालिकामा असारको अन्तिम सातासम्ममा करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै पानी परेकाले किसानले सहज रूपमा रोपाइँ गर्न पाएका छन् भने गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङका अनुसार गाउँपालिकाभित्र अधिकांश खेतीयोग्य क्षेत्रमा धान रोपाइँ सकिएको छ भने बाँकी क्षेत्रमा पनि केही दिनभित्र सम्पन्न हुनेछ । उनले यो बर्ष समयमै वर्षा भएकाले सिँचाइको समस्या नआएको बताए। “यस वर्ष समयमै वर्षा भएका कारण करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । मौसमले साथ दिए उत्पादन पनि बढ्ने अपेक्षा छ ।” अध्यक्ष केरुङले भने।
स्थानीय तहले पनि कृषि उत्पादन वृद्धि गर्न किसानलाई आवश्यक प्राविधिक परामर्श तथा कृषि कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । गाउँपालिकाले आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताएको छ ।









सूचना विभाग दर्ता नंः १८२३/०७६-७७