कमल सामुदायिक वनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

कमल सामुदायिक वनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

इलाम । चुलाचुली गाउँपालिका वडा नं. १ स्थित कमल सामुदायिक वन उपभोक्ता समूहले आज राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक भव्य कार्यक्रमका बीच वृक्षारोपण कार्य सम्पन्न गरेको छ।

वडा नं. १ को तोकिएको क्षेत्रमा आयोजित उक्त कार्यक्रममा वृक्षारोपणको वातावरणीय महत्वका साथै यसको गहिरो सांस्कृतिक र दार्शनिक मूल्यमाथि समेत विमर्श गरिएको थियो। चुलाचुली गाउँपालिकाको, आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत “वृक्षारोपण कार्यक्रम” का लागि गाउँपालिकाबाट रु. १,००,०००.०० (एक लाख) बजेट विनियोजन गरिएको थियो।

यसमा उपभोक्ताहरूको रु. १०,३८५.०० बराबरको जनश्रमदान थप भई कुल रु. १,१०,३८५.०० को लागतमा योजना सम्पन्न गरिएको हो। यो योजना २०८३ असार ४ गते सम्झौता भई असार १४ गते सम्पन्न भएको जानकारी समूहको सचिव लाल बहादुर कार्कीले गराउनु भयो।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष संगीता थलङ तुम्बापोले वृक्षारोपणको बहुआयामिक पाटोबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “नेपाली समाजमा रुख-बिरुवा रोप्नु केवल भौतिक कार्य मात्र होइन, यो हाम्रो सनातन संस्कार, संस्कृति र दार्शनिक जीवनपद्धतिसँग जोडिएको विषय हो। प्रकृतिलाई भगवान् मानेर पुज्ने हाम्रो सांस्कृतिक परम्परा छ। रुख रोप्नु भनेको आउने पुस्ताका लागि जीवनको जग बसाल्नु र प्रकृतिसँगको आत्मिक सम्बन्धलाई नवीकरण गर्नु हो।

दार्शनिक रूपमा पनि ‘रुख नै जीवन हो’ भन्ने सत्यलाई आत्मसात् गर्दै हामीले वन संरक्षणलाई अभियानकै रूपमा अगाडि बढाएका छौँ।”त्यस्तै, समूहका कोषाध्यक्ष गजेन्द्र सुनुवारले वृक्षारोपणले स्थानीय वातावरणलाई स्वच्छ र हरियाली बनाउन ठूलो मद्दत पुग्ने बताउनुभयो। उहाँले सामुदायिक वन उपभोक्ता समूहको उद्देश्य वन पैदावारको विकास र यसको संरक्षण गर्नु मात्र नभई खाली ठाउँहरूमा निरन्तर वृक्षारोपण गरी वन क्षेत्रको प्रवर्द्धन गर्नु समेत रहेको स्पष्ट पार्नुभयो।

वृक्षारोपण कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, वडा नं. १ का वडा अध्यक्ष पूर्ण लावती ‘धुर्व’, सब-डिभिजन वन कार्यालय चुलाचुलीका प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू तथा स्थानीय उपभोक्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।कार्यक्रमलाई सफल बनाउन समूहका अध्यक्ष संगीता थलङ, सचिव लाल ब. कार्की, र कोषाध्यक्ष गजेन्द्र सुनुवार लगायत कार्यसमितिका सदस्यहरूले सक्रिय नेतृत्व प्रदान गरेका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर