इलाम क्षेत्र १ मा कांग्रेसका उम्मेदवार निस्कल राई विजयी

इलाम क्षेत्र १ मा कांग्रेसका उम्मेदवार निस्कल राई विजयी

इलाम । इलाम क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन् । कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो ।

भर्खरै सकिएको मतगणनामा ३५ वर्षे राई १४ हजार ५ सय ४३ मतसहित विजयी भएका छन् । राईले यो मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूले १३ हजार ६ सय ३२ मत ल्याएका छन् । नेकपा (एमाले)का काजीमान कागते तेस्रो भए । उनले मत ११ हजार ९ सय ६६ ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६०, नेपाली कम्युनिस्ट पार्टीबाट रणबहादुर राईले ७ हजार ६ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी ज्वाला नेपालले ५ सय ७७, नेपाल मजदुर किसान पार्टीकी तुल्सीकेसरी प्रजापति (छुजु)ले ४४, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङले ४ सय ८१, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ८ सय १, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बूले २२ मत ल्याएका छन् । नेकपा (माओवादी)का नारदमणि साम्पाङले १ सय ६५, जनता समाजवादी पार्टीका लीलाबहादुर सुनुवारले २ सय ९६ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बूले ३९ मत ल्याएका छन् ।

विजयी राईलाई यस क्षेत्रका निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले प्रमाणपत्र प्रदान गरेका छन् । इलाम क्षेत्र १ मा ६३ हजार ६ सय ९५ मत खसेको थियो ।

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा (एमाले)का महेश बस्नेत विजयी बनेका थिए । बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका थिए । २०५६ सालमा यो क्षेत्रमा कांग्रेसका बेनुपराज प्रसाईं खनाललाई नै हराएर विजयी बनेका थिए ।

प्रतिनिधिसभा क्षेत्र १ मा सूर्याेदय नगरपालिका, माई नगरका १, २, ३, ४, ५, ९ र १०, सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिका छन् । क्षेत्र १ मा ६३ हजार ६ सय ९५ मत खसेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर