
इलाम । चुलाचुली-५ पोखरी डाँडाका दिलिपकुमार दियाली पत्नी कल्पनासहित सोमबार बिहान खेतमा मकै छर्दै थिए । झापाको दमकसँग जोडिएको चुलाचुलीको यो क्षेत्र सुख्खाग्रस्त भूमि हो, सिंचाइका कारण अहिले हराभरा भएको छ ।
सुख्खायाममा मरूभूमि जस्तो हुने यो क्षेत्रमा टाढाबाट सिँचाइ कुलो आएपछि जीवनस्तर सुधारिएको स्थानीयको भनाइ छ । ‘यो क्षेत्रमा भएको विकासले हामी सुवास नेम्वाङलाई सम्झिन्छौं, सुवास नेम्वाङको निधन भएपछि उनका छोरा हाम्रो ठाउँको सांसद बने । सुहाङ पनि बाउ जस्तै मीठो बोल्छन, शालीन छन्’, खेतमा जोत्दै गरेका दियालीले भने ।
नजिकैको अर्को खेतमा कौशिला रसाइली खेतमा आलु खन्दै थिइन् । ‘पहिला पानीको धेरै समस्या थियो, अहिले कुलो आएपछि हराभरा भयो । तरकारी किन्न पर्दैन, सबैले उत्पादन गर्छन्’ उनले भनिन्, ‘यो सुक्खा ठाउँमा भएको विकासले हामी खुसी छौं ।’
२०८१ वैशाख १५ मा भएको उपनिर्वाचनमा इलाम २ बाट विजयी भएपछिका १६ महिनामा सुहाङले इलामको विकासबारे संसद्मा पटक-पटक कुरा उठाएका थिए । चुलाचुलीमा भेटिएका हिक्मत राई सुहाङको कामले मतदाता प्रभावित भएको बताउँछन् ।

इलामका चियाबारीमा लागिरहेको छ नयाँको बतास
पूर्वी पहाडी जिल्ला इलाममा पनि नयाँ पार्टीको चर्चा चलिरहेको छ । रास्वपा मात्र नभइ हर्क साम्पाङको श्रम संस्कृति पार्टीको समेत चर्चा चलिरहेको छ ।
चुलाचुलीका ७३ वर्षका रविन्द्र राईले कांग्रेस-एमालेसँगै घण्टी, माटो र बाँसुरीको समेत चर्चा रहेको बताए । ‘धेरै दलको कुरा आइरहेको छ, फागुन २१ गतेसम्ममा थाहा होला कहाँ भोट हाल्ने भनेर’, राईले भने ।
प्रदेश १ को नाम कोशी राख्दा भएको पहिचानवादीको आन्दोलनमा यो क्षेत्रमा मानिस सहभागी भएका थिए । उनीहरूको झुकाव माटोप्रति देखिएको स्थानीय मतदाताले कुराकानीमा बताए ।
यसपटकको चुनावमा नेकपा एमाले भन्दा पनि सुहाङको व्यक्तिगत लोकप्रियता र शालीनताले काम गरेको छ । ‘सुहाङ व्यक्तिगत रूपमा राम्रो उम्मेदवार हो, छोटो समय सांसद बन्दा राम्रो काम गर्यो । तर उनको पार्टीप्रति मतदाताले प्रश्न गरिरहेका छन्’, माङसेबुङ गाउँपालिकाको घर्ती दोभानमा भेटिएका सञ्जय लिम्बुले भने ।
नेपाली कांग्रेसका क्रियाशील सदस्य एवं क्षेत्रीय प्रतिनिधि प्रकाश राई चुनावप्रति मतदाताको धेरै आकर्षण नरहेको बताउँछन् । ‘०७९ सालमा दुईवटा चुनाव भयो, ०८१ सालमा फेरि चुनाव भयो । अहिले अर्को चुनाव र ०८४ सालमा फेरि स्थानीय र प्रदेशको चुनाव हुँदैछ’, राईले भने, ‘इलामका मतदाता चुनावबाट आजित भइसकेका छन् ।’
कांग्रेस कार्यकर्ता राई इलाम २ मा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच भए पनि माटो र घण्टीले चुनावी समीकरणमा फेरबदल ल्याउन सक्ने विश्लेषण गर्छन् ।
इलाम २ मा नेपाली कांग्रेसबाट भेषराज आचार्य, एमालेबाट सुहाङ, नेपाली कम्युनिस्ट पार्टीबाट ओमबहादुर गुरुङ, रास्वपाबाट गोकुलबहादुर राई र श्रम संस्कृति पार्टीबाट सुदीप राई उम्मेदवार छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादर सिं लिङ्देन, मंगोल नेशनल अर्गलाइजेसनका श्यामबहादुर लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई समेत चुनावी मैदानमा छन् । बाँसुरी चुनाव चिन्ह रहेको परिवर्तन पार्टीको पक्षमा केही धार्मिक भोट रहेको स्थानीयले बताए ।
२०७९ सालको चुनावमा सुवास नेम्वाङ विजयी भएको क्षेत्रमा उपनिर्वाचनमा सुहाङ विजयी भएका थिए । रास्वपाले समेत प्रतिष्ठाको विषय बनाएको उपनिर्वाचनमा रास्वपा उम्मेदवार चौथो बनेका थिए । सुहाङले २७ हजार ७ सय ७२ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए । रास्वपाका मिलन लिम्बु भन्दा हर्क साम्पाङको समेत समर्थन रहेका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले धेरै मत पाएका थिए । डेकेन्द्रले ११ हजार ४ सय ५७ मत पाउँदा मिलनले ५ हजार ५० भोट पाएका थिए ।
२०७९ सालको चुनावको जनमत फेरिए पनि २०८१ को उपनिर्वाचनको नतिजालाई पूरै नजरअन्दाज गर्न नमिल्ने स्थानीयहरू बताउँछन् ।

के भन्छन् मतदाता ?
चुलाचुलीकी निर्मला विश्वकर्माले छोटो समयमा सुहाङले राम्रो काम गरेका कारण उनलाई मत दिने बताइन् । ‘मेरो विचारमा सुहाङले राम्रो काम गरेकोले उनले जित्नु पर्ने हो’, विश्वकर्माले भनिन्, ‘तर मान्छेको मनमा भित्र के छ भन्ने कसरी थाहा पाउने ?’
इलाम २ की अर्की मतदाता मनमाया घिमिरेले घण्टी र माटोको पनि चर्चा रहेको बताइन् । ‘मानिसहरूले विभिन्नथरी कुरा गरिरहेका छन्, हेरौँ भोट दिने बेलासम्म कसले मन जित्छ’, उनले भनिन् ।
स्थानीय सरिता विश्वकर्माले १५/१६ महिनाको समयमा राम्रो काम गरेका कारण सुहाङलाई भोट दिने बताइन् । ‘राम्रो बोल्छन्, छोटो समय सांसद बन्दा पनि उनले इलामको विकासमा काम गरेका छन्’, विश्वकर्माले भनिन् ।
चुलाचुलीकी विमला घतानीले अहिलेसम्म अलमल रहेको बताइन् । ‘सिटिसफारीमा घण्टी र माटोको ठूला फोटो राखेर हिँडिरहेका छन्, कांग्रेस र एमालेको पनि प्रचार भइरहेको छ’, घतानीले भनिन् ।
इलाम २ का अर्का मतदाता लोकबहादुर सुन्दासले नयाँको चर्चा सुनिरहेको बताए । ‘खोइ धेरैले माटो भनिरहेका छन्, के हुन्छ हेरौं’, उनले भने ।
मतदाता मिलन राईले कांग्रेस र एमालेबीच नै इलाम २ मा मुख्य प्रतिस्पर्धा रहेको बताए । ‘नयाँ पनि आइरहेका छन्, तर मुख्य प्रतिस्पर्धा कांग्रेस-एमालेबीच नै हुने देखिन्छ’, राईले भने ।
माङसेबुङ ४ का विक्रम राईले माटो, घण्टी, कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा रहेको बताए । ‘विभिन्न दलको चर्चा चलिरहेको छ, माटो र घण्टीले कांग्रेस, एमालेलाई टक्कर दिइरहेका छन्’, राइले भने ।
गजेन्द्र लिम्बु र हनुक लिम्बुले यसपट नयाँलाई परीक्षण गर्न चाहेको बताए । ‘अहिलेको अवस्थामा नयाँ पार्टीलाई एकपटक भोट दिऔं भन्ने चलिरहेको छ । हामी पनि घण्टी या माटोमा भोट दिने पक्षमा छौं’, गजेन्द्रले भने ।
माङसेबुङकी कोपिला थेगिमले अहिलेसम्म आफूहरू कसलाई भोट दिने भनेर निर्णयमा पुगिनसकेको बताइन् । अर्का मतदाता विपिन साम्वाले भने सुहाङलाई भोट दिने योजना रहेको बताए ।
चुलाचुली ३ पेल्टीमारीका मौसम राई सुहाङको सम्भावना बलियो रहेको बताउँछन् । ‘उनी नयाँ उम्मेदवार हुन्, छोटो समय अवसर पाउँदा राम्रो काम गरेकोले मतदाताले एक कार्यकालका लागि उनलाई अवसर दिऔँ भनिरहेका छन्’, मौसमले भने ।
इलाम २ का मतदाता कृष्ण रसाइलीले सुहाङलाई भोट दिने बताए ।
घर्ती दोभानमा पसल गरेर बसेकी फरिमाया थेगिमले मान्छेहरूले नयाँ नयाँ भनिरहेको बताइन् । ‘यहाँ पसलमा आउने कतिपयले माटो भनिरहेका छन्, कतिजनाले घण्टी भनेका छन्’, फरिमायाले भनिन्, ‘कांग्रेस र एमालेको पनि कुरा गरेका छन् । सुहाङले राम्रै गरेका हुन् ।’
इलामका अर्का मतदाता चेतन लिम्बुले रवि–राँके बाटो नबनेका कारण सुहाङले प्रश्नको सामना गरिराख्नु परेको बताए ।

अबको इलाम ग्लोबल ब्रान्ड मेरो एजेन्डा– सुहाङ
एमाले उम्मेदवार सुहाङ नेम्वाङले ‘अबको इलाम ग्लोबल ब्रान्ड’ भन्ने एजेन्डा लिएर मतदातामा गएको बताए । कृषिक्षेत्रको विकासमार्फत् इलामको समृद्धि सम्भव भएकाले किसान र बजारलाई जोड्ने एजेन्डा लिएर आफू मतदाताकोमा गएको उनले बताए ।
‘बिउदेखि बजारसम्म हामीले सुनिश्चित गर्नुपर्छ । कृषि क्षेत्रको विकासमार्फत् इलाममा विकास र समृद्धि ल्याउन सकिन्छ’, सुहाङले भने । इलामका कृषि उपजलाई बजारीकरण गर्ने आफ्नो प्राथमिकता रहेको बताए ।
‘यहाँको अलैँची, चिया र छुर्पी जस्ता उत्पादनलाई प्रशोधन र बजारीकरण गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्छौं’ उनले भने, ‘ग्लोबल ब्रान्ड बनाएर बिकाउनका लागि यहाँको उत्पादन अर्ग्यानिक बनाउनु पर्छ, यो मेरो चुनावी एजेन्डामा छ ।’

अलैँची, चिया र अम्रिसो जस्ता कृषि उत्पादनलाई बजारीकरण गरेर इलाममा समृद्धि ल्याउन सकिने उनले बताए ।
आफूले १६ महिना संसद्मा रहँदा इलामको विकासका लागि धेरै पहल गरेकोले मतदाताले अधुरा काम पूरा गर्न अवसर दिने विश्वास लिएको उनले बताए ।
‘यहाँको प्राकृतिक प्रकोपको बेला मानिसहरूले सुहाङ भनेका छन्, जिल्लामा बजेट ल्याउन मैले गरेको पहल मतदाताले देखेका छन् । त्यसैले मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा गरेको छु’, सुहाङले भने ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७