
२३ वैशाख, झापा । विराटनगर भन्सार कार्यालयबाट १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेका छन् । भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा कार्टुनमा राखिएको अवस्थामा रकम बरामद भएको हो ।
अत्यावश्यक वस्तुको ढुवानको नाममा भारतबाट भित्रिएको ट्रकका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । बरामद रकम कसले भित्र्याएको हो भन्ने अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ ।
खाली गाडी भएका कारण भारतीय पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा भने जाँच गर्दा बोराभित्र राखेको कार्टुनमा गुट्खाको र्र्यापरले बेरेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले पुष्टी गर्नुभएको छ । सो रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७