१९ जेठ, झापा । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सार्थक बनाउने उद्देश्यसाथ पत्रकारलाई लक्षित गर्दै इलामको करफोकमा तीन दिने विशेष तालिम सुरु गरिएको छ । तालिमले पत्रकारको कलम र क्यामेरा मार्फत प्रदेशका पर्यटकीय सम्भावना उजागर गर्ने विश्वास गरिएको छ ।
सुर्याेदय नगरपालिका–११ स्थित खलङगा सामुदायिक होमस्टे परिसरमा सुरु गरिएको तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ३५ जना पत्रकार सहभागी भएका छन् । उनीहरूलाई पर्यटन पत्रकारिता, स्थानीय संस्कृतिको प्रस्तुति, समाचारको रोचक एंगल र पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका लगायत विषयमा तालिम दिइँदैछ ।
प्रदेश सरकारको पर्यटन वर्ष घोषणासँगै मिडियाको भूमिकालाई संस्थागत बनाउने हेतुले पर्यटन पत्रकार मञ्च झापा गठन गरिएको र यस मञ्चकै समन्वयमा पहिलोपटक पर्यटन पत्रकारिता सम्बन्धी तालिम आयोजना गरिएको मञ्च अध्यक्ष कमल पण्डेले जानकारी दिनुभयो ।