
२० कात्तिक, झापा । पाँच सय बढी प्रतिनिधिको सहभागिता रहने नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को चौथो कोशी प्रान्तीय सम्मेलन तथा गोष्ठी झापाको दमकमा हुने तय भएको छ ।
नेल्टा झापाको आयोजना तथा नेल्टा मोरङ र नेल्टा सुनसरीको सहआयोजनामा हुने द्विदिवसीय कार्यक्रम आगामी कात्तिक २४ र २५ गते दमकस्थित सिद्धार्थ अङ्ग्रेजी माविमा हुनेछ । कार्यक्रममा कोशी प्रदेशभरिका अङ्ग्रेजी भाषाका प्राध्यापक, शिक्षक, पाठ्यपुस्तक लेखक, पाठ्यक्रम निर्माता, भाषा प्रयोगकर्ताका प्रतिनिधिको सहभागिता रहनेछ भने प्रदेशभरिका अङ्ग्रेजी भाषा तथा साहित्यमा रुचि राख्ने इच्छुक विद्यार्थी पनि सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
सम्मेलन तथा गोष्ठीको विषय ‘पारिस्थितिकी, समानुभूति र सशक्तीकरण ः अङ्ग्रेजी भाषा शिक्षणमा सुनिश्चितता, समावेशिता र नवीनता’ रहेको छ । अङ्ग्रेजी भाषामा चासो राख्नेका लागि प्रेरणादायक सत्रहरू रहने उक्त कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वको उपस्थिति र प्रस्तुति सम्मेलनको प्रमुख आकर्षण रहनेछ । अमेरिकी राज्य विभागका दक्षिण क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकारी रोजर कोहेन, क्याम्ब्रिज विश्वविद्यालय शिक्षा संकायमा कार्यरत डा.फिनिक्स केनी र काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल किनोट स्पिकर रहेको प्रेरणादायी सत्र रहनेछ ।
यो सम्मेलन यस क्षेत्रको एक ऐतिहासिक र भव्य कार्यक्रम (मेगा इभेन्ट) को रूपमा रहनेछ । कार्यक्रममा नेल्टाका वर्तमान केन्द्रीय अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली, निवर्तमान अध्यक्ष सहप्राध्यापक मोतीकला सुब्बा देवान र पूर्व अध्यक्ष हेमन्त दाहाल प्लेनरी वक्ताको रूपमा रहनेछन् । सम्मेलनमा अङ्ग्रेजी भाषाका विद्वानहरूको ठूलो जमघट हुने र अङ्ग्रेजी भाषा शिक्षणका चुनौती सम्बन्धमा सार्थक संवाद र बहस हुने नेल्टा कोशी प्रदेश अध्यक्ष गुणराज नेपालले जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७