नामै नसुनेको राजनितिक दलको चन्दा आतंक

नामै नसुनेको राजनितिक दलको चन्दा आतंक

८ भदौ, झापा । नामै नसुनिएका तथा राजनीतिक वृतमा गतिविधि शून्य भएका दलले झापामा चन्दा आतंक सृजना गरेको खुलासा भएको छ ।

केही दिनदेखि झापाका अधिकांश विद्यालयमा आर्थिक सहयोग माग्दै उनीहरुले पत्र पठाउने गरेको खुलासा भएको हो । भ्रष्टाचार विरुद्ध जनएकता तथा जनसंघर्ष अभियान, राष्ट्रियता, जनतन्त्र तथा जन जीविकाका मुद्दालाई लिएर संघर्ष गरिरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन भन्दै नेपाल कम्युनिष्ट पार्टी (वहुमत)ले विद्यालयहरुमा पत्र पठाउँदै चन्दा मागेको छ ।

पार्टीका इञ्चार्ज मिसेकले हस्ताक्षर गरेपनि उनले मिति र विद्यालयको नाम भने उल्लेख गरेका छैनन् । यो पार्टीमा को आवद्ध छ भन्ने हालसम्म खुल्न सकेको छैन । भारतसँंग गरिएका सम्झौता विरुद्ध आन्दोलन गर्नुपर्ने तथा मिटरव्याजीमाथि कारवाही, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा माफियाहरुको हालीमुहाली भएको भन्दै सो पार्टीले त्यसविरुद्ध संघर्षको नाम लिएर विद्यालयमा चन्दा आतंक मच्चाएको बताइएको छ । सो पार्टीले झापामा कुनै पनि राजनीतिक गतिविधि नगरेको तर, चन्दा आतङ्क मच्चाएको जनाइएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले समेत विद्यालयमा चन्दा आतंक मच्चाइरहेको पाइएको छ । उक्त पार्टीका महासचिव महावीरद्वारा हस्ताक्षरित सहयोग पत्रमा देशका जातीय, वर्गीय, क्षेत्रीय र लैङ्गिक समस्याहरु विरुद्ध संघर्ष गर्नु पर्ने उल्लेख गरिएको छ । साथै सो पार्टीले बैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि पार्टीले शुरु गरेको विशेष अभियानमा आर्थिक सहयोग गरिदिन आग्रह गर्दै विद्यालयलाई पत्र पठाउने गरेको खुलेको छ । सो पार्टीले हालसम्म झापामा कुनै पनि राजनीतिक गतिविधि तथा कार्यक्रम नगरेको सुरक्षा क्षेत्रका जानकारले बताएका छन् ।

त्यस्तै बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल नामक दलको नाममा समेत चन्दा आतङ्क शुरु भएको छ । उक्त पार्टीका महासचिव आहुतिद्वारा हस्ताक्षरित आर्थिक सहयोगको पत्रमा सर्वहारा, श्रमजीवीवर्ग उत्पीडित राष्ट्र (जाति) एवम् समुदायको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भन्दै आर्थिक सहयोग मागिएको छ । साथै उक्त पार्टीले भदौ २८ देखि ३० गतेसम्म काठमाडौंमा प्रथम सम्मेलन गर्ने र त्यसका लागि अनिवार्य रुपमा चन्दा दिनुपर्ने भन्दै विद्यालयमा धम्की दिने गरेको बताइएको छ ।

फरकरफरक राजनीतिक दलले चन्दा आतंक तीव्र बनाइरहे पनि उनीहरुले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नाम बेच्ने गरेको खुलासा भएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले राजनीतिक दलले चन्दा आतङ्क मच्चाएको विषयमा कुनै उजुरी नपरेको बताएका छन् । समाजमा चन्दा आतङ्क मच्चाएको कुनै उजुरी परे त्यस विरुद्ध अनुसन्धान गर्दै घटनामा सम्लग्नलाई कानूनी दायरामा ल्याउने उनले बताए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर