४ वैशाख, झापा । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको झापाको काकरभिट्टा स्थित मेची भन्सार नाका बन्द गरेको छ । यस संगै नेपालको पूर्वी नाकाबाट आयात निर्यात पुर्ण रुपमा ठप्प भएको छ ।
बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।
भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात पुर्ण रुपमा ठप्प भएको उहाँले बताउनुभएको छ । यसभन्दा अघि लकडाउनको समयमा पनि सो नाका भएर ग्यासको बुलेट, तरकारी, फलफूल बोक्ने कन्टेनर भित्रिने गरेको उहाँले जनाउनुभयो ।
उहाँका अनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन पनि दिएको विश्वकर्माले बताउनुभयो ।
नाका खोल्न पहल
यता केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको छ ।
दिल्ली स्थित नेपाली दूतावासबाट समेत पहल थालिएको जानकारी आफूलाई आएको मेची भन्सार प्रमुख विश्वकर्माले बताउनुभयो ।