गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

२६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्नको संसदीय दलको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए ।

उनले भने– ‘आज समग्र विषयमा पदाधिकारी बैठकमा छलफल भयो । त्यसबारे थप निर्णय लिनको लागि भोलि बिहान ८ बजे संसदीय दलको बैठक बसेर निर्णय लिन्छ ।’

यता, कांग्रेसले आफ्नो अडानबाट पछि नहट्ने संकेत देखाएपछि सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्दैछन् । त्यही छलफलमा जानुअघि देउवाले पार्टी पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।

सभामुखले देउवासहित प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गर्दैछन् । तर, सरकारले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नको लागि समिति बनाउने पक्षमा छैनन् ।

सरकारलाई कांग्रेसले भोलिसम्मको ‘अल्टिमेटम’ दिएको छ । भोलि समिति नबनाए बैठक चल्न नदिने कांग्रेसको अडान छ।

प्रतिक्रिया:

सम्बन्धित खवर