२३ चैत, झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रका सडकको अवलोकन गर्नुभएको छ।
बिहीबार पूर्वप्रधानमन्त्री खनालले तीनघरे–शान्पिुर–झापा सडकको अवलोक गर्नुभएको हो । उहाँले तीनघरे–शान्पिुर–झापा सडकलाई पक्की सडकको रूपमा अघि बढाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । ‘यो बाटोको ट्र्याक खोल्ने पहल पनि मैले नै गरेको हो अब बाह्रै महिना चल्ने सडक भइसक्यो यसलाई पिच गरेर यस भेगका जनातको जीवनस्तर उकास्न सरकारसँग पहल गर्छु,–उहाँले भन्नुभयो ।
झापाको बिर्तामोडबाट शान्तिपुर हुँदै तीनघरे निस्कने सडकलाई कालेपत्रे गर्न सके इलामबाट बिर्तामोड आउन १८ किलो मिटर दुरी छोटो हुने रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङले बताउनुभयो । यो सडकले राम्रो बन्दा इलामको सूर्याेदय नगरपालिका, रोङ गाउँपालिका र झापाको अर्जुधार नगरपालिकाका हजारौँ नागरिक लाभान्वित हुने अध्यक्ष तामाङले बताउनुभयो ।
यसैबीच पूर्व प्रधानमन्त्री खनालले मदन भण्डारी राजमार्गको अवलोकन गर्दै रूखकटानको समस्याको कारण सडक निर्माणको काममा भएको ढिला सुस्तीको बारेमा तत्काल सहजीकरण गर्ने बताउनुभयो । उहाँले नम्बरिङ भइसकेको रुख कटामा भएको ढिलासुस्तिको विषयलाई तत्काल समाधान गर्न पहल गर्ने बताउनुभयो । भण्डारी राजमार्गको सीमा क्षेत्र पाटापुरमा बसपार्क र सीमावती मेची नदीमा पुलको लागि पहल थालिएको बताउनुभयो ।