
२२ चैत, झापा । गोर्खा फाउण्डेशन बिर्तामोडले ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरेको छ । महानायक राजेश हमाल र झापाका महेन्द्र कुमार गिरी सहित पाँच जनालाई बुधबार सम्मान प्रदान गरिएको हो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापना गरेको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरी र महानायक राजेश हमालसहित पाँच जनालाई प्रदान गरिएको हो ।
सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, काठमाडौंकी पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार र भूवनसिंह विश्वकर्मा रहेका छन् । विश्वकर्मा अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली नागरिक हुन् ।
नगद ५१ हजार पुरस्कार राशिसहित उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेतले सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
गोर्खा फाउण्डेशनका अध्यक्ष वीरवहादुर दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका महासचिव रञ्जित परियारले स्वागत गर्नुभएको थियो ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७