१३ चैत । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले आफ्नो दलमा ल्याउने भएको हो।
माओवादी त्यागेर गत चैत ४ गते मिलनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।
संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त सो क्षेत्रमा रास्वपाले पनि पहिचान पक्षधर भनेर चिनिएका मिलनलाई अघि सार्ने भएको हो। रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ।
त्यसदिन सभापति रवि लामिछानेसहित पदाधिकारी इलाम २ पुग्दैछन्।
निरन्तर संवाद, इलाम २ को भूगोल, मतदाताको मनोविज्ञान र एमालेको उम्मेदवार चयन लगायतलाई विचार गरेर रास्वपा मिलनलाई अघि सार्ने निष्कर्षमा पुगेको सो पार्टीको उच्च स्रोतले बताएको छ। एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ।
उम्मेदवार चयनका लागि सहमहामन्त्री बुर्लाकोटीसहित ६ जना सांसद इलाम पुगेर ६ वटै पालिकाको वस्तुस्थिति अध्ययन गरेका थिए।