५ चैत, विराटनगर । विराटनगर महानगरपालिका–४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ ।
नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । उनी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा केही महिनाअघि मात्रै डेरा सरेकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो ।
चन्द्रिका कुमारीका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनी २६ फागुनमा काठमाडौं आएका थिए । काठमाडौंबाट उनी सिराहास्थित घर भने गएनन् । सीधै विराटनगरमा आए । २९ फागुनमा विराटनगर आएका उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो ।