२९ फागुन । चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ।
चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमार्फत सार्वजनिक विज्ञप्तिअनुसार सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्त रूपमा कायम राख्ने’ रहेको छ।
विज्ञप्तिमा धेरै विवरण नखुलाई भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ।”
यस क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो। गाजामा युद्ध चर्किएको र इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमाथि आक्रमण शुरू गरेका बेला त्रिदेशीय सैन्य अभ्यास हुने लागेको हो।
यस वर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग पनि मेल खाएको एपीले उल्लेख गरेको छ।