२८ फागुन, इलाम । इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ ।
नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।
एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो । उपनिर्वाचनको मिति तोकिएसँगै सुवासचन्द्रका छोरा सुहाङ पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो । यही चर्चाबफच एक साताअघि इलाम आएका उनले निवेदनमार्फत दाबेदारी प्रस्तुत गरेका हुन् ।
सुहाङसँग नेपाल प्रेसले केहीदिनअघि गरेको भिडिओ वार्ता हेर्नुहोस्( ‘परिस्थितिले राजनीतिमा धकेल्दैछ, बुवाको निर्वाचन क्षेत्रमा पार्टीले अघि सारे खुट्टा कमाउँदिन’
एमाले इलामका उपाध्यक्ष तथा कार्यदल संयोजक राईले सुहाङले पनि उम्मेदवारीको लागि निवेदन दिएको बताए ।
संयोजक राईका अनुसार सुहाङसहित एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले पनि दाबेदारी प्रस्तुत गरेका छन् । कार्यदलले चैत ३ सम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने तयारी छ ।
उम्मेदवार बन्नका लागि निवेदन दिएको बताउँदै सुहाङले भने, ‘सबै आदरणीय अग्रज, शुभेच्छुक, प्रियजन, साथीभाइको सुझावअनुसार मैले कार्यदलमा निवेदन दिएको छु । यदि पार्टीले मलाई योग्य ठान्यो भने म प्रतिस्पर्धाका लागि तयार छु ।’
पेशाले अधिवक्ता सुहाङले पछिल्लो समयमा इलाममा गतिविधि बढाएका छन् । अहिले भेटघाट र अन्तरक्रियामा उनी व्यस्त छन् । यसबीचमा कार्यकर्ता(शुभेच्छुकबाट आएका प्रतिक्रियाले आफू उत्साही रहेको उनले सुनाए ।