१७ फागुन, बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताएका छन् । झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको र फागुन १९ गते सभ्य र भब्य तयारीकाले उद्घाटन गर्ने बताए ।
झापा गोल्ड कपमा ए डिभिजन क्लवसहित १० वटा टिमको सहभागिता हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लवसहित बागमती युवा क्लव, संकटा फुटबल क्लव, मछिन्द्र फुटबल क्लव, एनआरटी फुटबल क्लव, चर्च वोइज युनाइटेड, एन्फा मकवानपुर तथा विभागीय टोलीहरु एपिएफ, त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवको सहभागिता रहनेछ ।
‘झापा गोल्ड कपमा यस पटक पुरस्कारको राशी वृद्धि गरेका छौं । विजेता टोलीलाई १३ लाख रुपैयाँ नगदसहित आकर्षक ट्रफी प्रदान गर्नेछौं भने उपविजेता टिमलाई सात लाख र ट्रफी प्रदान गर्नेछौं ।’ अध्यक्ष बस्नेतले भने । त्यस्तै विगतका वर्ष झैं यो वर्ष पनि बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिड फिल्डर, बेस्ट फरवार्डलाई उत्कृष्ट खेलाडीका रुपमा अवार्ड प्रदान गरिने, यसका साथै हरेक खेलमा उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’को अवार्ड पनि प्रदान गरिने बताए ।
एक करोड ४० लाख रुपैयाँमा गोल्ड कप सम्पन्न गर्ने लक्ष्य आयोजकले लिएको छ । सोही अनुसार गोल्ड कपको तयारी भइरहेको छ । ‘यस पटक आर्थिक मन्दीका कारण आम्दानी घटेको छ । लागत खर्च उठाउँछौं नै । तर, विगत वर्ष झैं यति नै बचत हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ । हाम्रो मुख्य लक्ष्य भनेको गोल्ड कप सम्पन्न गर्नु र बचत रकमलाई नघटाउनु नै रहेको छ । आम्दानी गर्न नसकिए पनि बचत भएको रकम खर्च हुनबाट जोगाउन सकिएमा आगामी अध्यक्ष तथा टिमलाई काम गर्न सहज हुन्छ भन्ने मेरो अपेक्षा छ । हामीले यस पटक गोल्डकप गराउँदै गर्दा एक करोड रुपैयाँको अक्षय कोष खडा गर्न सकेको खण्डमा आगामी दिनमा पनि सहज हुने अपेक्षा गरेका छौं । यो पटक झापा गोल्ड कप हेर्न ३० हजार दर्शक आउने हामीले अपेक्षा गरेका छौं । टिकट बिक्रीबाट ५० लाख रुपैयाँ संकलन हुने हाम्रो अनुमान छ । यस पटक टिकट केही महँगो भए पनि झापा गोल्ड कप आफ्नै कार्यक्रम सम्झिएर टिकट खरिद गर्न सबैमा आग्रह गरेका छौं । टिकट काउन्टरलाई व्यवस्थित गर्ने तयारी समेत गरेकाले झन्झटरहित गोल्ड कप हेर्न पाइने अधिकतम प्रयासमा हामी जुटेका छौं ।’ अध्यक्ष बस्नेतले भने ।
उद्घाटनका दिन विभिन्न जातजातिका झाँकी सहित खेलकुद क्षेत्रका अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनका दिन झापा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछ । त्यस्तै विविध सांगीतिक माहोलसँगै झापा गोल्ड कपको उद्घाटन गराउने छौं। उनले भने।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रमुख बालेन्द्र शाह ‘बालेन’लाई समेत निमन्त्रणा गरेको र उहाँको समय मिलेमा उहाँ पनि झापा गोल्ड कपमा सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।