इलाम नगरपालिकामा जनै बनाउने तालिम सुरु

इलाम नगरपालिकामा जनै बनाउने तालिम सुरु

११ माघ, इलाम । विदेशमा बनेका जनैलाई निरुत्साहित गर्ने उद्देश्यले इलाम नगपालिकाले जनै बनाउने तालिम सुरु गरेको छ । हिन्दु धर्मावलम्बीहरुले प्रयोग गर्ने जनैको आयात रोक्न नगरपालिकाले वडा नं. ७ का एकल महिलाहरुलाई जनै बनाउने सम्बन्धी तीन दिने तालिम बुधबारदेखि गरेको हो ।

बाहिरबाट आयात हुने जनै प्रतबन्ध गरी स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्यले जनै बनाउने तालिम सञ्चालन गरिएको इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन् ।

इलाम नगरपालिकाले ‘उपमेयर सीप विकास कार्यक्रम’ अन्र्तगत एकल महिलाहरुलाई तालिम दिईएको उनले बताइन् । स्थानीय मानव अधिकारका लागि महिला एकल महिला समूहको व्यवस्थापनमा तालिम सञ्चालन भइरहेको छ । तालिममा इलाम नगरपालिका–७ का १५ जना एकल महिलाहरु सहभागी छन् । उनीहरुलाई पुरोहित गंगाप्रसाद बरालले सहजीकरण गरिरहेका छन् ।

स्थानीय उत्पादनलाई प्राथमिकता, संस्कृतिको संरक्षण एवम् धागोले वैदिक विधिअनुसार जनै बाट्ने परम्परागत शैली लोप हुन लागेपछि यसको संरक्षणमा जोड दिदैं महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकासँगको साझेदारीमा तालिम सञ्चालन गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष दीपा ढकालले बताइन् । बाहिरबाट जनै आयात भइरहेकोकाले त्यसको निरुत्साहित गरी स्थानीय श्रोत, साधन र जनशक्तिको परिचालन गर्न तालिमले सार्थकता पाउने उनको विश्वास छ ।

सनातन वैदिक परम्परामा जनैको विशेष महत्व छ । जनैलाई (यज्ञोपवीत), यज्ञसुत्र र ब्रह्मसुत्र पनि भनिन्छ । हिन्दुत्वका सोह्र संस्कार र अन्य देव, पितृ कुनैपनि पूजाकर्ममा जनैको अपरिहार्यता रहन्छ । जनैविना कुनैपनि यज्ञ कर्म हुँदैनन् भने जनै नलगाएसम्म यज्ञको अधिकारी भइदैन भन्ने हिन्दु धर्मावलम्बीहरुमा विश्वास छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर