४ माघ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले फोहोर सङ्कलन गरी लगेको थियो ।
शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । “आजै उठाइएको फोहरमा शव रहेछ”, वडासदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।”
इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाल लगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।