२३ कार्तिक, विराटनगरका । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहकार्य नछाडेको बताएका छन् । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको भन्दै उनले पुनः सत्तामा आउन आह्वान गरे ।
कोशी प्रदेश सभा बैठकमा आज प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै कार्कीले भने, ‘एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ । सरकारले एमालेलाई छाडेको छैन । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको जगजाहेर छ ।’
नेपाली कांग्रेसबाट विद्रोह गरेर कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले एमालेका मन्त्रीहरुलाई विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण पनि गराएका थिए । तर केन्द्रको सत्ता गठबन्धन दलकालाई पनि मन्त्रीमा नियुक्त गरेपछि एमालेबाट मन्त्री बनाएकाहरुले सरकार छाडेका थिए । तर सरकारलाई दिएको समर्थन भने एमालेले कायम राखेको छ ।
आजको प्रदेश सभा बैठकमा एमालेका बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री कार्कीले केन्द्रको मुख ताकेर एमालेले लगाएको गुन बिर्सिएको टिप्पणी गरेका थिए । जंघार तरेर लौरो बिर्सिएको भन्ने राजभण्डारीको अभिव्यक्तिमा मुख्यमन्त्री कार्कीले भने, ‘खोलो तरेर लौरो बिर्सिएको छैन । मैले एमालेसँगको सहकार्य छोडेको पनि छैन ।’
आफूले केन्द्रको मुख पनि नताकेको बताउँदै कार्कीले भने, ‘केन्द्रको मुख ताकेको भए एमालेसँगको सम्बन्ध छोडेर गठबन्धनको मात्र बनाउँथे होला ।’
उनले नेकपा एमालेबाट बनेका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले अघि सारेको सहमति र सहकार्यको एजेण्डालाई पछ्याएको समेत बताए ।
दलहरुको एकताले नै प्रदेशको समृद्धिको बाटो पहिल्याउँछ भन्ने एमालेको एजेण्डालाई आफूले पनि पछ्याएको भन्दै मुख्यमन्त्री कार्कीले प्रतिपक्षको कुर्सि छाडेर सत्ता पक्षको कुर्सिमा आउन आह्वान समेत गरे ।