२८ असोज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन् । आज प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन् ।
उनले भने ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे ? अचाक्ली भएपछि विद्रोह हुन्छ किनभने कांग्रेसका नेताहरूले पुष्पकमल दाहालले जे भन्छन् त्यो मात्रै गरे ।’
केन्द्रमा ३२ सिट रहेको माओवादीका पछि ठुलो दल कांग्रेस लागेको भन्दै उनले कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर त्यहाँका सांसदहरूले विद्रोह गरेको जिकिर गरे । उनले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिबाट एमालेले बचाएको बताए ।
‘कोशी प्रदेश मध्यावधिमा जाने अवस्था सिर्जना हुन लाग्यो हामी तयार थियौँ तर देशको आर्थिक अवस्था नाजुक छ । यो अवस्थामा एउटा प्रदेश मध्यावधिमा गयो भने देशमा ठुलो खतरा पनि हुनसक्छ भनेर मध्यावधिबाट जोगाउन यसपटक हामीले जोसुकैलाई सहयोग गरेर भए पनि रोक्यौ । कांग्रेसका विद्रोहीहरूलाई साथ समर्थन र्गयौ’ ओलीले भने ।