१५ फाल्गुन । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दमक बसपार्क भित्र निर्माण गरिएको एकीकृत काउण्टरको उद्घाटन गर्नुभएको छ ।
दमक –६ स्थित पूर्व बसपार्क भित्र निर्माण गरिएको आधुनिक टर्मिनल भवन भित्र बसपार्क काउण्टरको उहाँले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात बोल्दै मन्त्री कार्कीले प्रदेश सरकारले यातायात तथा ट्राफिक व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढेको जानकारी दिनुभयो ।
प्रदेश १ सरकारले यातायात चालकहरुका लागि रिफ्रेसमेन्ट सेन्टर स्थापना गरिएको बताउँदै सडक सुशासनको नीतिको संघीय सरकारले समेत अनुशरण गरेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले प्रहरीको जागिरमा आकर्षण घट्दो रहेका कारण पर्याप्त जनशक्ति व्यवस्थापन हुन नसकेकाले छिट्टै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी जनशक्ति बन्दोबस्ती गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभयो ।