१० भाद्र, विराटनगर । प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेकपा एमालेको सचिव समेत रहनुभएका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।
प्रदेश–१ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उहाँले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाइएको हो ।
मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्यले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन ।
माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।
प्रदेश–१ को कुल सांसद संख्या ९३ हो । सरकार बन्नका लागि चाहिने बहुमत संख्या ४७ हो । आजका दिनसम्म नेकपा एमालेसँग एकल बहुमत अर्थात ५१ सांसद छन् । तर यीमध्ये पाँचजना सांसद मात्रै माधव नेपालको पक्षमा लागेको खण्डमा एमालेको बहुमत गुम्ने निश्चित छ ।