
१८ असार, इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले चुलाचुली गाउँपालिकाले सार्वजनिकस्थलमा पत्रकारहरूलाई रिपोर्टिङ गर्न बन्देज लगाउने गरी जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।चुलाचुली गाउँपालिकाले जारी गरेको विज्ञप्तिले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता तथा सूचनाको हकसम्बन्धी ऐन–२०६४ ले प्रत्याभूत गरेको पत्रकारको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै महासंघले आज असार १७ गते एक बिज्ञपति मार्फत आपत्ती जनाएको हो ।
सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने र सार्वजनिकस्थलमा भिडियो खिच्ने, सामग्री संकलन गर्ने तथा रिपोर्टिङ गर्ने कार्य पत्रकारको नियमित पेशागत जिम्मेवारी भएको महासंघको भनाइ छ। पत्रकारले व्यावसायिक मर्यादा वा पत्रकार आचारसंहिता विपरीत कार्य गरेमा त्यसको नियमन गर्ने सम्बन्धित निकाय रहेको उल्लेख गर्दै स्थानीय सरकारले पत्रकारको रिपोर्टिङमा प्रत्यक्ष बन्देज लगाउने अधिकार नरहेको महासंघले स्पष्ट पारेको छ।
पत्रकार महासंघ इलामका अध्यक्ष भिम चापागाईंले जारी गरेको विज्ञप्तिमा चुलाचुली गाउँपालिकाको उक्त निर्णय तत्काल सच्याउन, संवैधानिक तथा कानुनी व्यवस्थाको सम्मान गर्न, लोकतान्त्रिक अधिकारको रक्षा गर्न र पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित पक्षसँग माग गरिएको छ ।
चुलाचुली गाउपालिकाले हिजो असार १७ गते एक विज्ञप्ती जारी गरेर सार्बजनिक स्थलमा फोटो भिडियो खिच्न गाउपालिकाको अनुमती अनिवार्य लिनु पर्ने र अनुमती बिना ती कार्य भए कारवाही हुने चेतावनी समेत दिएको थियो ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७