
११ असार, इलाम । किरात राई समुदायको मौलिक सभ्यता, संस्कृति, भाषा तथा मुन्दुमको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले पहिलोपटक ‘मुन्दुम पाठशाला’ स्थापना गर्ने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त योजना समावेश गर्दै पाठशाला सञ्चालनको घोषणा गरेको हो।
गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत किरात समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार तथा सांस्कृतिक परम्परालाई व्यवस्थित रूपमा नयाँ पुस्तामा हस्तान्तरण गर्न मुन्दुम पाठशाला स्थापना गरिने जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिकता, प्रविधिको तीव्र विकास तथा विश्वव्यापीकरणका कारण ओझेलमा पर्न थालेका किरात समुदायका मौलिक मूल्य, मान्यता र सांस्कृतिक सम्पदालाई संरक्षण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
पाठशालामार्फत किरात मुन्दुम, सांस्कृतिक संस्कार, मातृभाषा, लोककला, परम्परागत ज्ञान तथा जीवन दर्शनसम्बन्धी विषयमा अध्ययन–अध्यापन गराइनेछ। यसका साथै किरात समुदायका धार्मिक, सामाजिक तथा सांस्कृतिक अभ्यासबारे पनि नयाँ पुस्तालाई व्यवहारिक ज्ञान प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
अध्यक्ष राईले मुन्दुम केवल धार्मिक ग्रन्थ वा संस्कारको विषय मात्र नभई किरात समुदायको जीवन पद्धति, इतिहास, दर्शन र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको बताउनुभयो। “हाम्रा मौलिक संस्कार, भाषा र परम्पराहरू क्रमशः लोपोन्मुख अवस्थामा पुगिरहेका छन्। यिनको संरक्षण र पुस्तान्तरणका लागि संस्थागत प्रयास आवश्यक भएकाले मुन्दुम पाठशालाको अवधारणा ल्याएका हौं,” उहाँले भन्नुभयो।
स्थानीयवासी तथा सांस्कृतिक अभियन्ताहरूले गाउँपालिकाको यो निर्णयलाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार पछिल्लो समय युवापुस्तामा आफ्नै भाषा, संस्कृति र परम्पराप्रति चासो घट्दै गएको अवस्थामा पाठशालाले सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, समुदायमा रहेका ज्ञाता, मुन्दुमविद् तथा सांस्कृतिक व्यक्तित्वहरूको ज्ञानलाई व्यवस्थित रूपमा अभिलेखीकरण र हस्तान्तरण गर्न पनि यसले सहयोग पुर्याउने विश्वास गरिएको छ।
मुन्दुम पाठशाला स्थापना भएपछि किरात समुदायका बालबालिका तथा युवाहरूले आफ्नै मौलिक संस्कृति र पहिचानबारे औपचारिक रूपमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। यसले भाषा संरक्षण, सांस्कृतिक निरन्तरता तथा सामुदायिक एकताको भावना बलियो बनाउन समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
माङसेबुङ गाउँपालिका किरात धर्म, संस्कृति र इतिहाससँग गहिरो रूपमा जोडिएको क्षेत्रका रूपमा परिचित छ। यहाँ रहेको लारुम्बा क्षेत्र किरात समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक केन्द्र मानिन्छ। हरेक वर्ष यहाँ विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्, जसले देश तथा विदेशका किरात समुदायलाई आकर्षित गर्दै आएको छ।
गाउँपालिकाले मुन्दुम पाठशालालाई केवल शैक्षिक कार्यक्रमका रूपमा नभई सांस्कृतिक संरक्षण अभियानका रूपमा अघि बढाउने जनाएको छ। स्थानीय तहबाट सुरु गरिएको यो पहल सफल भएमा अन्य किरात बाहुल्य क्षेत्रका स्थानीय तहका लागि पनि अनुकरणीय नमुना बन्न सक्ने विश्वास गरिएको छ।
मुन्दुम पाठशाला स्थापनाको घोषणासँगै किरात समुदायको मौलिक पहिचान, ज्ञान, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नयाँ आशा जागेको स्थानीयवासीको भनाइ छ। आगामी दिनमा पाठशालाले किरात सभ्यता र संस्कृतिलाई जीवित राख्दै नयाँ पुस्तालाई आफ्नो मौलिक जरा र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ।




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७