वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध

वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध


१५ कार्तिक, झापा । हिजो बिहीबारदेखि सुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो ।

पहिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण पुनः सडक अवरुद्ध भएको हो । मेची राजमार्गमा हिजो साँझ देखिनै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले शुक्रबारदेखि बन्द गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

वैकल्पिक सडक सिमलगोलाई सडकमा पनि ठाउँ–ठाउँमा पहिरो झरेको, सडक चर्किएको र तत्काल वर्षा भइरहेकाले यो सडक बन्द गरिएको प्रजिअ नेपालले बताउनुभयो ।

यता इलाम–झापा जोड्ने अर्काे वैकल्पिक सडक केचना –कञ्चनजंघा सडक पनि अहिले बन्द रहेको छ । यो सडकबिचमा रहेको माइखोलाको बेलासे पक्की पुल असोज १८ को वर्षाले बिचमा भासिएको छ । यही सडकबिचमा पर्ने पुवा खोलाको बेलीब्रीज पनि असोज १८ को बाढीले बगाएको थियो ।

पूूर्वी पहाड ताप्लेजुङ, पाँचथर, इलामको लाइफलाईनका रुपमा रहेको मेची राजमार्ग बन्द भएपछि ताप्लेजुङसम्मका सर्वसाधारण समस्यामा पर्ने देखिएको । गएको असोज १८ को बाढी पहिरोपछिको विपदसँगै इलामलाई सरकारले तीन महिनाका लागि विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर