
इलाम । नेपालटार-मङ्गलबारे-गजुरमुखी-चतुरे सडकखण्डअन्तर्गत इलामको देउमाई नगरपालिका-५ र माङसेबुङ गाउँपालिका-१ जोड्ने देउमाई खोलामा अस्थायी ड्याम निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको छ ।
गत असोज १८ गतेको बाढीले पक्की पुलमा क्षति पुर्याएपछि अवरुद्ध सडक १७ दिनपछि सोमबार दिउँसोदेखि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । सो सडकअन्तर्गत देउमाई खोलामा अस्थायी ड्याममार्फत साना सवारी सुचारु गरिएको उनले बताए ।
कोशी प्रदेश सरकारको सहयोगमा माङसेबुङ गाउँपालिकाले पुलको भत्केको क्षेत्रमा ड्याम निर्माणपछि सवारी सुचारी गरिएको अध्यक्ष राईले बताए । उनका अनुसार ड्याम निर्माण गर्न गाउँपालिकाले एक साता एववटा एक्स्काभेटर र दुईवटा जेसीबी परिचालन गरेको थियो ।
‘खोलालाई पुरानो पुलतर्फ फर्काएर क्षतिग्रस्त क्षेत्रमा अस्थायी ड्याम निर्माण गरेका छौं,’ अध्यक्ष राईले भने, ‘यसमा प्रदेश सरकारले पनि आर्थिक सहयोग गरेको छ ।’
सडक सञ्चालन भएपछि माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकाम जान र इलाम सदरमुकामबाट माङसेबुङ आउन यात्रु र सवारीहरुलाई सहज भएको छ । सो सडक अवरुद्ध हुँदा यसअघि माङसेबुङ गाउँपालिका इलाम सदरमुकामसँग सडक सञ्चाजलबाट विच्छेद थियो ।
बाढीले यहाँको पक्की पुलमा क्षति पुर्याएपछि यहाँका बासिन्दाले सास्ती खेप्दै आएका थिए । त्यस क्षेत्रका यात्रु र सवारीहरु झापाको दमक हुँदै र पाँचथरको राँके हुँदै सदरमुकाम जानआउन बाध्य थिए ।
गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङका अनुसार तत्कालका लागि ड्याम निर्माण गर्न कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ गाउँपालिकालाई उपलब्ध गराईसकेको छ ।
यो सडकले माङसेबुङ गाउँपालिकालाई देउमाई नगरपालिका हुँदै इलाम सदरमुकामसँग जोडेको छ । सडक सुचारु भएसँगै यहाँबाट साना सवारी आउजाउ गर्न थालेका छन् ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७