
इलाम– विपद संकटग्रस्त जिल्ला इलाममा ११ दिनपछि मुख्य राजमार्गको वैकल्पिक मार्ग खुलेको छ । इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य मेची राजमार्गको अवरुद्ध राजदुवाली खण्डको विकल्प खुलेको हो ।
असोज १८ को ठूलो वर्षापछि इलाम नगरपालिका ९ को राजदुवालीछेउमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध छ । तत्काल अवरोध खुल्ने सम्भावना नभएपछि इलाम नगरपालिका १०, गोदकको सिमलगोलाईबाट माइबेनीको जोगमाई खोला हुँदै इलाम बजारछेउ तिल्केनी निस्किने वैकल्पिक मार्ग खुलेको हो । यो मार्गको जोगमाई खोलामा डाइभर्सन बनाइएपनि सवारीका साधन चल्न थालेका छन् ।
१२ किलोमिटरको यो मार्ग कच्ची छ । धेरै ठाउँमा ग्राभेल गरी सडक सहज बनाइएको छ तर पानी पर्नेबित्तिकै समस्या हुने सम्भावना छ । जोगमाई खेलामा गएराति डाइभर्सन निर्माण सकिएको छ । तर, साना गाडीमात्र सञ्चालन भइरहेका छन् । ‘यो डाइभर्सनले चाहिँ ठूला गाडी पनि थेग्न सक्छ,’ सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले भने, ‘तर, यही सडकको माइखोला बज्रदेवी पुलछेउमा सडक अलि कमजोर छ ।’
इलाम नगरपालिका ८ र माइजोगमाई गाउँपालिकाबीचको बज्रदेवी पक्की पुलछेउ (माइजोगमाईपट्टि)को जिप बाढीले बगाएको थियो । त्यो ठाउँमा पुरपार पारेर सडक सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तत्काललाई साना सवारीका साधनमात्र यो सडकमा गुडाउन अनुमति दिएको छ । ‘ठूला सवारीका साधनलाई जोखिम नहुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउने छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले भने ।
मेची राजमार्ग अवरोध हुँदा इलामको माई खोलापश्चिमको क्षेत्रमा इन्धन र खाना पकाउने ग्यास अभाव हुन थालिसकेको थियो । खाद्यान्न अभाव नभएपनि सहज आपूर्ति हुन सकेको थिएन । ‘यो विकल्प खुला भएपनि ढुवानी केही सहज हुने आशा छ,’ इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेलले भने, ‘तत्कालको अभर टार्न फिक्कलसम्म ठूलो गाडीमा खाना पकाउने ग्याँस ल्याएर त्यहाँबाट साना गाडीमा ल्याउने व्यवस्था मिलाइएको छ ।’ यो डाइभर्सन खुलेपछि साना गाडीले खाना पकाउने ग्यास ल्याएका छन् । पाँचथरको बाटो भएर इन्धन अभाव पनि हल गर्न प्रयास गरिएको उनले जनाए ।
खोलाको डाइभर्सन अस्थायी विकल्पमात्रै भएकाले यहाँ पक्की पुल नै उपयुुक्त हुने सडक डिभिजन प्रमुख भट्टराई बताउँछन् । ‘यो डाइभर्सन अस्थायी विकल्पमात्रै हो, यहाँ पक्की पुल हाल्न डिभिजनले प्रक्रिया अघि बढाउने छ,’ उनले भने, ‘वैकल्पिक सडक पक्की बनाउँदा स्थायी रूपमा यसले काम गर्छ ।’ अहिले डाइभर्सन बनाइएको स्थानमा केही महिनाअघि मात्र बेली ब्रिज उद्घाटन गरिएको थियो । तर, असोज १८ को बाढीले यहाँको बेली ब्रिज बगाएको छ ।
मेची राजमार्गका दर्जनौं स्थानमा पहिरो गएपनि राजदुवालीको पहिरोमा अझै सवारी आउ–जाउ गर्ने अवस्था छैन । असोज २२ देखि निरन्तर पहिरो पन्साएर सडक निकाल्ने काम भइरहेपनि पूरा हुन सकेको छैन । डिभिजनले पहिरो हटाउन ४ एक्स्काभेटर प्रयोग भइरहेपनि खुल्न नसकेको जानकारी दिएको छ । यहाँको करिब डेढ किलोमिटरका ४ खण्ड एउटै पहिरोले बगाएको छ । ‘भित्रभित्रैबाट पानी बगिरहेकाले बाटो अड्याउन सकिएको छैन,’ डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘हामी निरन्तर काम गरिरहेका छौं ।’ यहाँ विगत वर्षहरूमा पटक–पटक मर्मत गर्दा माथिबाट हालिएको सबै ग्राभेल फ्याँकेर सडक निकाल्ने प्रयास भइरहेको छ ।
पहिरोले इलाम–झापा जोड्ने निर्माणाधीन केचना–कन्चनजंघा मार्गमा पर्ने माइखोलाको बेलासे पक्की पुल र पुवाखोलाको बेली ब्रिज क्षति गरेको छ । बेली ब्रिज बगाएको छ भने पक्की पुल बीचमा भाँच्चिएको छ । यो मार्ग मेची राजमार्गको वैकल्पिक भएपनि दुुवै ठाउँमा पुल नहुँदा सवारीका साधन चल्ने अवस्था नरहेको डिभिजनले जनाएको छ । पुवाखोलामा स्थानीय र नेपाली सेनाको सहकार्यमा काठको फड्के बनाइएको छ । यसबाट साना सवारी र मोटरसाइकल तर्न सक्छन् । तर, प्रशासनले यो राजमार्गमा सवारी चलाउन जोखिम भएकाले नचलाउन सूचना गरेको छ ।
विकल्प खुला हुँदा राहत भएपनि पानी परेमा पुनः समस्या पर्ने भएकाले स्थायी समाधान तत्काल खोज्न इलामबासीले माग गरिरहेका छन् । पूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले तत्काललाई विकल्प खुलेपनि स्थायी समाधानमा लाग्नुपर्ने बताए । ‘अहिले जोगमाईमा बनाइएको डाइभर्सन बाढी नआउञ्जेलका लागिमात्रै हो, ढुक्क हुने अवस्था छैन । स्थायी समाधान अनिवार्य छ,’ उनले भने, ‘विपदका बेला सबै भएर इलाममा यातायातको स्थायी र भरपर्दाे व्यवस्था गरिएन भने वर्षाैंसम्म इलाममात्रै होइन, पाँचथर र ताप्लेजुङबासीले समेत दुःख पाउनेछन् ।’
यसअघि पनि इलामको तिल्केनीबाट बज्रदेवी–नामसालिङ–गुप्ती हुँदै फिक्कल भएर मेची राजमार्गमा जोडिने विकल्प खुलेको थियो । तर, यहाँबाट पनि साना सवारीका साधनमात्र चल्न सकेका थिए । असोज १८ को बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार २ सय ९० घरमा पूर्ण र ७ सय ५३ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ४ सय परिवार विस्थापित भएका छन् । विस्थापितमध्ये ३ सय ८९ परिवार आफन्तकहाँ र ११ परिवार सामुदायिक भवनमा बसेका छन् । धेरै संख्याका पशुचौपाया क्षति भएका छन् । सरकारले इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा गरेको थियो ।
बाढी र पहिरोले सयौं ग्रामीण सडक क्षतिग्रस्त छन् । केही सामुदायिक भवन, खेलमैदानलगायत संरचना क्षतिग्रस्त भएका छन् । कतिपय स्थानमा स्थानीयसमेत आफैं जुटेर पुनर्निर्माणमा लागेका छन् । सुरक्षाकर्मी र संघ–संस्थाले स्थानीयलाई सघाएर विभिन्न संरचना पुनः उठाउँदै जनजीवन सहज बनाउने प्रयास भइरहेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७