पर्यटक पर्खदै तुम्लिङ

पर्यटक पर्खदै तुम्लिङ

इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ मा रहेको तुम्लिङ नेपाल, भारत हुँदै युरोपसम्मका पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । समुद्री सतहबाट २ हजार नौ सय ७० मिटरको उचाइमा रहेको तुम्लिङ गुरुङ समुदायको बाहुल्य भएको रमणीय स्थान हो ।तुम्लिङको मुख्य आकर्षण भनेको आँखै अगाडि देखिने कञ्चनजंघा हिमश्रृङ्खला हो । यसका साथै, लोत्से, सगरमाथा लगायत दर्जनौं हिमालहरू पनि यहाँबाट देख्न सकिन्छ ।

भारतीय सीमामा पर्ने सिंहलिला राष्ट्रिय निकुञ्ज नजिकै भएकाले चराविज्ञ र प्रकृतिप्रेमीहरूका लागि पनि यो ठाउँ महत्त्वपूर्ण छ । विश्वको सबैभन्दा धेरै हिमश्रृङ्खला देख्न सकिने एक मात्र पर्यटकीय क्षेत्र सन्दकपुरको पदयात्रामा जाने पर्यटकहरूका लागि तुम्लिङ प्रमुख बासस्थानको केन्द्र पनि हो । भारतका पर्यटकले सबैभन्दा बढी रुचाउने गन्तव्यमध्ये तुम्लिङ एक हो ।

फिक्कल चौक बजारबाट २९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ नेपाल भारत सिमावर्ती बजार मानेभञ्ज्याङबाट करिब साढे १० किलोमिटरको यात्रामा पुग्न सकिन्छ । पवित्र जोगमाई खोलाको शिरमा रहेकोले यस ठाउँको धार्मिक महत्व पनि रहेको छ । तुम्लिङ क्षेत्रमा भारतपट्टि सिंहलिला राष्ट्रिय निकुञ्ज भए पनि नेपालपट्टि मानव बस्ती भएकाले यहाँ पर्यटकको घुइँचो लाग्ने गर्छ ।

पर्यटन सिजनमा मात्रै यहाँ ४५ हजारभन्दा बढी पर्यटकले बास बसेको तथ्याङ्क छ । तुम्लिङबाट अगाडि बढ्दा टङ्लु, गुराँसे र विश्वको सबैभन्दा धेरै बुद्ध मूर्ति भएको मेघमा पनि पुग्न सकिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर