
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । आन्तरिक रुपमा उम्मेदवार छनोटदेखि बुथ कमिटी गठनसम्मका काममा दलहरु व्यस्त छन् ।
खास प्रतिस्पर्धी दल कुन–कुन होलान् ? कांग्रेस, एमाले, रास्वपा, राप्रपा र मधेस केन्द्रित दलहरुबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यी सबै दल उम्मेदवार टुंगो लगाउने प्रक्रियामा छन् ।
मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । तर मोर्चाको एक घटक जनमत पार्टीले आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेको छ । यसरी हेर्दा अब मोर्चाबिचमै पनि प्रतिस्पर्धा हुनेछ । मोर्चाले नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार बनाउने भएको छ । त्यसका लागि नाउपा उम्मेदवार चयन प्रक्रियामा गइसकेको छ । यता जनमत पार्टी पनि उम्मेदवार चयन गर्ने तयारीमा लागेको छ ।
‘सबै दल एक्लाएक्लै चुनाव लडेको भए हाम्रो पार्टीका लागि त्यति ठूलो समस्या थिएन । अब एकातिर मोर्चा छ भने अर्काेतिर कांग्रेस, एमाले र माओवादी पनि छन् । यी दलहरुसँग प्रतिस्पर्धा गर्न त्यस्तै उम्मेदवारको खोजीमा हामी छौं,’ एक नेता भन्छन् ।
यसपटक पनि कांग्रेस–एमालेबिच त्यहाँ गठबन्धन हुनसक्छ । यसअघि एमाले र जसपा नेपालले राप्रपालाई सघाएका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसका बालकृष्ण खाँणलाई हराउँदै राप्रपाका दीपक बोहरा विजयी भएका थिए । दीपक बोहराको निधन भएपछि त्यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यसपटक राप्रपाबाट दीपक बोहराका छोरा प्रज्ज्वल बोहरा उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । कांग्रेसबाट खाँणको नाम आइरहेपनि टुंगो लागिसकेको छैन ।
यता छुट्टै उम्मेदवार उठाउने तयारीमा लागेको जनमतलाई संघीय लोकतान्त्रिक मोर्चा मुख्य चुनौती बन्ने देखिएको छ । साझा उम्मेदवार उठाउन लागेको नागरिक उन्मुक्ति पार्टीलाई मोर्चाका घटक दल लोसपा नेपाल, जसपा नेपाल, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टीको साथ छ ।
जनमत पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता मोर्चाले आफूहरुलाई कुनै फरक नपर्ने दाबी गर्छन् ।
‘हामी चुनाव जित्ने गरी उम्मेदवार चयन गर्ने तयारीमा छौं । हामीबिचमा छलफल चलिरहेको छ,’ उनी भन्छन् । जनमतबाट यसअघि चुनाव लडेका प्रमोदकुमार गुप्ताको पनि तयारी छ । किरण गुप्ता, रामु यादवलगायतले पनि उम्मेदवारमा दाबी गरेका छन् ।
जित्ने सम्भावना भएकैले जनमतमा उम्मेदवारहरुको आकर्षण बढेको गुप्ता दाबी गर्छन् । ‘यदि हार्ने सम्भावना भएको भए उम्मेदवारहरुको आकर्षण बढ्ने थिएन,’ उनी भन्छन् ।
जनमतले उक्त क्षेत्रमा बुथ कमिटी गठनको काम धमाधम गरिरहेको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले पनि साझा उम्मेदवारका लागि छलफल चलाएको छ । नागरिक उन्मुक्ति पार्टीका नेता एवं रुपन्देही–३ उपनिर्वाचनका संयोजक डा. सरोज चौधरी पार्टी उम्मेदवार चयनको तयारीमा जुटेको बताउँछन् ।
‘नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्न चाहने सात–आठ जनाको नाम आइसकेको छ । तर यस विषयमा मोर्चामा आवद्ध दल तथा नागरिक उन्मुक्ति पार्टीको बैठकले निर्णय गर्छ,’ उनी भन्छन् ।
२०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ मा जनमत पार्टी पाँचौं स्थानमा आएको थियो । उसका उम्मेदवार प्रमोदकुमार राउतले तीन हजार ३१७ मत ल्याएका थिए । तर नागरिक उन्मुक्ति पार्टीले चौथो स्थान ल्याएको थियो । नाउपाका उम्मेदवार तुलसीप्रसाद थारुले चार हजार ७५१ मत ल्याएका थिए । रास्वपाका जितबहादुर गुप्ता तेली तेस्रो स्थान ल्याउँदै पाँच हजार ७९६ मत ल्याएका थिए भने दोस्रो स्थान ल्याएका कांग्रेसका खाँणले ३४ हजार ३६ मत ल्याएका थिए । चुनाव जितेका राप्रपाका दीपक बोहराले ३६ हजार ७१७ मत ल्याएका थिए ।
गत चुनावमा लोसपाले कांग्रेसलाई र जसपा नेपालले राप्रपालाई सघाएका थिए । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मात्र त्यहाँ चुनाव लडेका थिए । लोसपा र जसपा नेपालको शक्ति कस्तो छ भनी यकिन भएको छैन । यसपटक लोसपा, जसपा नेपालले नागरिक उन्मुक्तिलाई सघाउँदा राप्रपा र कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुनसक्छ ।
गत चुनावमा आएको समानुपातिकको मत जोड्ने हो भने नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा नेपालको जम्मा मत १६ हजार ३५४ मत हुन्छ । कांग्रेसले २० हजार २७९, एमालेले १६ हजार ९९६, रास्वपाले १४ हजार १५४ र राप्रपाले नौ हजार १८३ मत मत समानुपातिकमा पाएका थिए ।
यो हिसाब हेर्दा मोर्चाका साझा उम्मेदवारले पनि ठुला दलहरुसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । नागरिक उन्मुक्तिले ६ हजार १०, जसपा नेपालले पाँच हजार २९१ र लोसपा नेपालले पाँच हजार ५३ समानुपातिक मत पाएका थिए । अहिले एक्लै चुनाव लड्ने तयारीमा जुटेको जनमत पार्टीले अघिल्लो चुनावमा तीन हजार ७३२ मत समानुपातिकमा ल्याएको थियो । माओवादी केन्द्रले दुई हजार ६३७ र राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार ९२७ मत ल्याएका थिए ।
२०७९ को चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ मा कुल ९३ हजार ४४९ मत खसेको थियो । त्यसमध्ये ८८ हजार २१२ मत सदर भएको थियो ।
रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा, बुटवल उपमहानगरपालिका १४, १५, १६, १७, १८ र १९ नम्बर वडा, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडा, मायादेवी गाउँपालिकाका ७ र ८ नम्बर वडा र ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७