भुटानी पूर्व राजबन्दी रामबहादुर राईको ‘आरन’

भुटानी पूर्व राजबन्दी रामबहादुर राईको ‘आरन’

दमक, झापा —भुटानको जेलमा ३१ वर्ष १० महिना बित्यो ६६ वर्षीय रामबहादुर राईको । करिव ३२ वर्षपछि उनी फर्किएका हुन् दमकको बेलडाँगी शरणार्थी शिविर। देशद्रोह लगायतका दर्जनौँ झुठा मुद्दा खेपेर राई १० महिनाअघि छुटे। भुटानमै बस्ने चाहना थियो ।

तर, भुटानी सत्ताले दिएन। बरु चाँडै भुटान छाड्न धम्कीपूर्ण आदेश फर्मान गर्‍यो। भारत हुँदै जसोतसो आइपुगे बेलडाँगी शिविर । शिविरमा न श्रीमती न त छोराहरू।

जेठी छोरी र ज्वाईको सहयोगमा उनलाई शिविरभित्रै पुर्नस्थापित गर्ने अभियान सुरु भयो। विभिन्न दाताहरूको सहयोगमा सानो झुप्रो बनाइयो। झुप्रोसंगै उनले एउटा आरन पनि सुरु गरे । राईको छोराले दलितको आरन चलाउने ? धेरैले जिज्ञासा राखे । तर, जात व्यवस्थाका विरोधी उनले भने, ‘मैले जानेको पेशा यही हो। काम सानो ठूलो हुँदैन। जसले जानेको छ उसले गर्दा हुन्छ। मैले जानेको यही हो। यसैले जीवन धानेको छ ।

अन्ततः ७० हजार खर्चेर आरन खडा गरे । आरनमा घरेलु हतियार बनाउनेदेखि पूराना हतियारलाई शान लाउने, अर्जाप्ने काममा उनी अहिले सक्रिय छन्। खासमा फलामको सामान बनाउने सीप उनले ४ दशक अघि नै सिकेका थिए । जतिबेला भुटानमा भुटान पिपुल्स पार्टी (बीपीपी)नामको संस्थाले आन्दोलन सुरु गरेको थियो ।


बीपीपीले सशस्त्र संघर्षको तयारी पनि गर्दै थियो । त्यही मेसोमा राई राइफललगायतका घरेलु हतियार बनाउने सीप सिक्न त्रिपुरा पठाइए । ‘त्यही बेला पार्टीले अढाई लाख खर्च गरेर मलाई फलामको सामान बनाउने तालिममा पठाएको थियो’, कोइलामा पोलेको रातो फलामलाई घनले पिट्दै उनी भन्छन्,‘सशस्त्र क्रान्ति त हुन सकेन, तर त्यो सीप अहिले मलाई जीवन धान्न काम दिइरहेको छ ।

बेलडाँगी शिविरको एक कुनामा फलाम पिटेर उनले जिविका चलाइरहेका छन्। अहिले पनि फलाम ठोक्दैछु, पहिले आन्दोलनका लागि बन्दुक बनाउन सिकेको थिएँ, अहिले आरनमा फलामसंगै मनको पीडा पिट्छु,’ उनले भावुक हुँदै भने ।

शरणार्थी बनेर बेलडाँगी शिविर आए। तर, भुटानमै रहँदादेखि विद्रोही स्वाभावका थिए। प्रजातान्त्रिक र मानव अधिकारवादी आन्दोलनमा सक्रिय थिए। सन् १९९४ मा श्रीमती र चार छोराछोरी दाई शिविरमै छाडेर राजनीतिक सन्देशसहितका पर्चा बोकेर पुनः भुटान फर्किए।

गेलेफुमा राति सरकारविरोधी पर्चा पम्प्लेट टाँस्दै गर्दा पक्राउ परे। ‘पोष्टर चिप्काउँदै थिएँ भुटानी पुलिसले पक्राउ गर्‍यो,’ राईले त्यो दिन सम्झिए, ‘त्यसपछि त मैले जति यातना कसले भोगेको होला र!’

आरके बुढाथोकीको भुटान पिपुल्स पार्टी, टेकनाथ रिजालको मानव अधिकारवादी संगठनहरूमा आवद्ध राई बेलडाँगी शिविर सचिव पनि थिए ऊ बेला । तर, परिस्थितिले जेल पठायो, त्यो पनि करिव ३२ वर्ष । ‘आधा भन्दा बढी उमेर त जेलमै बिताइसकेँ’, ६६ वर्षीय राईले सुनाए,‘ एकवारको जुनी आरनमा फलाम पिटेर बिताइदिन्छु ।’

जेलभित्रको यातना सुनाउँदा अझै झस्किन्छन् । जेलभित्र पटक–पटक पाएको यातनाका कारण दुईवटा करङ भाँचिएको र शारीरिक रूपमा अशक्त भएका छन्। पुलिसले ठाडो खुट्टा पार्न लगाएर पैतालामा कुट्थ्यो । त्यो पिटाईको असर अहिले सम्म छ। ‘रातभरि पैताला दुख्छ । जुत्ता लाउन हुदैन’, भुटानी जेलभित्रको नारकीय जीवनबारे भन्छन्, ‘कुनै रोग छैन, तर जेलभित्रको यातनाको असर अहिले देखिन थालेको छ ।’

राईलाई बख्खु लगाएको मान्छे देख्दा झम्टिन मन लाग्छ। कुटिहाल्न मन लाग्छ । अहिले पनि सुनसान मात्रै मन पराउँछन् । जेलमा झैँ एक्लै बस्न रुचाउँछन् । ‘बजार तिर गएँ भने धेरै बेर मन सम्हाल्न सक्दिनँ’, उनी थप्छन्,‘किन किन भिडभाड पटक्कै मन पर्दैन ।’

गत असारको दोश्रो सातातिर ३१ वर्ष १० महिना लामो जेल जीवन भुक्तान त गरे । तर, नेपाल आउन निक्कै सकस पर्‍यो। मन भुटानमै बस्ने थियो । तर, भुटानी प्रशासन उनलाई राख्न कहाँ तयार हुनु ! बरु सक्दो चाँडो भारततिर लखेट्ने उद्दत थियो । ‘मैले अब भुटानमै बस्छु भनेर अनुमति माग्दा प्रशासनका अधिकारीले एक घन्टा पनि बस्न पाउँदैनस् भने’, राईले सुनाए, ‘लगत्तै भुटान–भारतको सीमा नाका जयगाउँ लगेर छाडियो ।’

जयगाउँबाट नेपाल–भारत सीमानाका पानीटंकी पुग्दा दिनको १२ बजेको थियो । जयगाउँका सामाजिक अभियन्ता राजु मगरको सहयोगमा पानीटंकी पुगेका थिए । पछि जेठी छोरी गंगामाया सुव्वा र ज्वाईले पानीटंकीबाट नेपाल ल्याएका थिए।

जेलबाट छुट्ने अघिल्लो दिन भुटान सरकारले भारत सरकारलाई उनको हुलिया पठाएको थियो । भुटानले पठाएको हुलियाका कारण राईलाई नेपाल छिर्न निक्कै गाह्रो भयो । पानीटंकीमा रहेको सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल छिर्न अवरोध गर्‍यो।

छोरी ज्वाईहरू कागज पत्र लिएर पुगेका थिए। उनको शिविरमा रहँदाको पहिलाको रासन कार्ड थियो, जुन रेडक्रसले उपलव्ध गराएको थियो । ती कागजात देखाउँदा पनि प्रवेशमा धेरै गाह्रो भयो । भारतीय सुरक्षाकर्मीको करिव ३ घन्टा लामो गलफतीपछि बल्ल नेपाल प्रवेश पाए ।

‘यत्रो कागजपत्र देखाउँदा पनि जान दिनु हुन्न भने ठीक छ । म सिलिगुडीमा गएर धर्ना बस्छु भनेर घुर्की लगाएपछि माथिल्लो हाकिमले जान दियो’, राईले सुनाए, ‘छिर्न नदिएको भए त म कता जानु ? भुटानले फेरि पक्रेर बेपत्ता नै पार्थ्यो होला ।’

फर्किएर चै नआउनु नि फेरि ? छाड्ने बेलामा उनलाई भनियो । उनले नेपालीबाटै भने, ‘किन आउनु हौ म फर्किएर । म ३१ सालपछि नेपाल जादैछु नेपाल, भारत। आउने अवस्थामा छैन भनेँ।’

भुटानले आफूलाई सबैभन्दा शान्त र खुसी देश दाबी गर्नु हावादारी कुरा हो भन्ने राईलाई लाग्छ । ‘जनताले सय रुपैयाँ कमाउँदा सरकारलाई २० रुपैयाँ बुझाउनु पर्ने देश, स्वतन्त्र रुपमा बोल्न, लेख्न नपाइने देश कसरी शान्त र खुसीको देश हुन सक्छ ?’, राईको प्रश्न छ, ‘भुटान विश्वकै बेखुसी जनता बस्ने देश हो ।’

थिम्पुदेखि १६ किलोमिटर टाढा सधैँ हिउँ पर्ने चेम्गाङ सेन्ट्रल जेल चलाउन हुँदा जम्ल्याहा छोरीहरू ९ वर्षका थिए । त्यसपछि जन्मिएका दुई छोरा पनि सानै थिए । अहिले छोरीहरू नेपालमै छन् । ठूलो छोरा अमेरिका र सानो अष्ट्रेलियामा छन् ।

बेलाबेला सम्पर्क हुन्छ उनको । सानै हुँदा जेल परेका कारण बाबुलाई नजिकबाट नदेख्न पाए, न त चिन्न नै । ‘मेरो माया पनि पाएनन् । त्यो बेला मैले माया दिन पाको भए पो अहिले उनीहरूले पनि माया गर्थे’, हल्का निरास भावमा राई थप्छन्,‘माया त दोहोरो हुनु पर्छ होला नि ।’

सन् २००९ मा श्रीमती बितिन् । जतिबेला उनी जेलमै थिए । श्रीमती बितेको खवर पाउन डेढ वर्ष लाग्यो । रेडक्रसले खबर पुर्‍यायो। खबर सुनेर भक्कानिएर रुनबाहेक उनीसँग विकल्प नै के पो थियो र!

प्रतिक्रिया:

सम्बन्धित खवर