२७ माघ, झापा । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ ।
आर्थिक वर्ष २०८०।८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताउनुभयो । वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात बिरामीले खरिद गर्नुपर्ने औषधिमा स्वास्थ्य चौकीले ७५ प्रतिशतसम्म छुट दिने गरेको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।
‘जनता औषधि कार्यक्रम’लाई व्यवस्थित बनाउन वडाले कार्यविधि निर्माण गरेको छ । बर्सेनि वडाले कार्यक्रम सञ्चालनका लागि रु पाँच लाख बजेट विनियोजन गर्दै आएको छ । कार्यक्रम सुरु भएसँगै यहाँ सेवा लिन आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको खुदुनावारी स्वास्थ्य चौकीका प्रमुख डम्बर मिश्रले बताउनुभयो । बजारमा महँगो मूल्यमा किन्नुपर्ने औषधि सुलभ मूल्यमा पाइने भएपछि दैनिक २०० सम्म बिरामी आउने गरेको उहाँले बताउनुभयो ।
वडा कार्यालयले रु पाँच लाख बजेट दिएर सुरु भएको कार्यक्रम लोकप्रिय बनेपछि हाल एकैपटकमा रु १४ लाख बढीको औषधि खरिद गर्न सक्ने अवस्थामा स्वास्थ्य चौकी पुगेको उहाँले जानकारी दिनुभयो ।
सेवा लिन अर्जुनधाराका अरु वडावासीमात्र होइन, छिमेकी पालिका बिर्तामोड, बुद्धशान्ति र मेचीनगरका बिरामीसमेत आउने गरेको मिश्रले बताउनुभयो । उहाँले कतिपय औषधि शतप्रतिशत बोनसमा आउने र कतिपय एक बट्टा खरिद गर्दा तीन बट्टा सित्तैमा आउने हुँदा जनताले अत्यधिक सहुलियतमा गुणस्तरीय औषधि पाउने गरेको उहाँको भनाइ छ । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रमको तुलनामा यो कार्यक्रम बढी प्रभावकारी भएको उहाँले दाबी गर्नुभयो ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रममा निःशुल्क औषधि दिइने भनिए पनि धेरैजसो औषधि बीमाको सूचीभित्र पर्दैनन् । त्यसका कारण नागरिकले महँगो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता छ । अर्जुनधारा वडा नं ३ मा बिमाको सूचीमा नपर्ने औषधिसमेत सहुलियतमा पाइने भएकाले वडावासी खुसी भएको वडाध्यक्ष भट्टराई बताउनुहुन्छ ।