२८ मंसिर, झापा । स्रोत नखुलेको ठूलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीवार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार गौरादह नगरपालिका –५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् ।
मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान २९,७०० डलर ( आजको नेपाली दररेट अनुसार रु ४० लाख ३३ हजार ८५४) फेला परेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।