२५ मंसिर, झापा । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रातिपख गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् ।
समितिको मुख्य काम हात्ती गाउँ पस्ने गौडामा बसेर गाउँलेलाई सूचना दिनु हो । हाते माइक, सिटी र आकस्मिक काममा प्रयोग गरिने साइरन बजाएर गाउँलेलाई हात्ती गाउँ पसेको सूचना दिने समितिको मुख्य कर्तव्य रहेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताउनुभयो । वडा नम्बर ८ को झिलझिले, थेचम्बु, बुद्धचोक, डुँडामारी र फुलबारी चोकको गौडा प्रयोग गरेर दिनहुँ जङ्गली हात्ती गाउँ पस्ने गरेका छन् ।
स्थानीयका अनुसार कुनै दिन एउटा मात्र वयस्क हात्ती गाउँ पस्छ भने कुनै दिन हुल नै बाँधिएर हात्ती गाउँ बस्ने गरेका छन् । हात्ती गाउँ पसेपछि स्थानीयले भण्डारण गरेका अन्नपात खाने, बालीनाली कुल्चिएर नष्ट गर्ने र घर भत्काउने गरेको छ ।
कतिपय स्थानीयले हात्ती पसेको थाहा पाएपछि बालबालिका चेपेर घर छोड्ने गरेका छन् । गस्ती टोलीमा अधिकांश युवा छन् । महिनौंदेखि हात्तीले शिवसताक्षी नगरका केही वडामा आतंक मच्चाउन थालेपछि नगरमा पहिलोपटक वडा नम्बर ८ ले रात्रिकालीन गस्ती सुरु गरेको हो ।
पूर्वपश्चिम राजमार्ग उत्तरको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलमा दिनभरि बस्ने र रात परेपछि गाउँ पस्ने हात्तीले स्थानीय आतङ्कित बनेको नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताउनुभयो ।
वडा अध्यक्ष फेउदिनको नेतृत्वमा गठित समितिमा प्रहरी, रेडक्रसकर्मी, पत्रकार, स्थानीय बजार विकास समितिलगायतका प्रतिनिधि संलग्न छन् ।
यो समितिमा सब डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी पनि सम्मिलित छन् । स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेको वडा सचिव पुष्पलाल पाण्डेले जानकारी दिनुभयो ।