७ कात्तिक, काठमाडौं । रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ ।
रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । सोही दिन राति उनलाई पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले लामिछानेलाई शुक्रबारदेखि गणना हुने गरी अनुसन्धानका लागि ६ दिन म्याद दिएको थियो । त्यसको विरोधमा देशैभरका हरेक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्ता पोखरा जान रास्वपाले सर्कुलरसमेत जारी गरेको थियो ।